१५ दिनको अवधिमा विभिन्न अपराधमा संलग्न १ हजार ३२७ जना पक्राउ

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाल प्रहरीले १५ दिनको अवधिमा देशभरबाट १ हजार ३ सय २७ जना विभिन्न अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । २५ असोज देखि ८ कात्तिकसम्म दसैँको अवधिमा विभिन्न अपराधमा संलग्नहरू पक्राउ परेका हुन्। 

जसमध्ये ब्युरोहरूबाट ४ जना, उपत्यकाबाट २ सय ३० जना, कोशी प्रदेशबाट २ सय ४ जना, मधेश प्रदेशबाट २ सय ८९ जना, बागमती प्रदेशबाट १ सयजना, गण्डकी प्रदेशबाट ९१ जना, लुम्बिनी प्रदेशबाट २ सय ३ जना, कर्णाली प्रदेशबाट ६० जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ४६ जना पक्राउ परेका हुन् ।

 सो अवधिमा १ हजार ४ सय २२ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ज्यानसम्बन्धी कसुर अन्तर्गत २ सय ६४, आत्महत्यासम्बन्धी १ सय २६, चोरी सम्बन्धी १ सय ५८, लागुऔषधसम्बन्धी २ सय ७, हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी ८, अपहरण तथा शरीर बन्धकसम्बन्धी ३, आर्थिक अपराधसम्बन्धी ३९, चेक अनादरसम्बन्धी १ सय ८, सामाजिक अपराधसम्बन्धी २ सय ६१, महिला तथा बालबालिकासम्बन्धी १ सय २, सवारीसम्बन्धी १ सय २९, विद्युतीय कारोबारसम्बन्धी ७, लिखितसम्बन्धी ५ र नागरिकतासम्बन्धी कसुरअन्तर्गत ५ वटा मुद्दाहरू दर्ता भएका हुन् । गत वर्षको दसैंको अवधिमा ८ सय १ जना पक्राउ परेका थिए भने ९ सय ६० वटा मुद्दा दर्ता भएको थियो ।  
आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्ले बताउँछन् । उनका अनुसार प्रहरीले समुदाय–प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ । 

१५ दिनमा २३९ जना लागुऔषध कारोबारी पक्राउ 
  १५ दिनको अवधिमा प्रहरीले २३९ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।  असोज २५ देखि कात्तिक ८ गतेको अवधिमा ठुलो संख्यामा कारोबारी पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
जसमध्ये लागूऔषध नियन्त्रण ब्यूरोबाट ३ जना, काठमाडौं उपत्यकाबाट ४७ जना, कोशी प्रदेशबाट ३८ जना, मधेश प्रदेशबाट २४ जना, बागमती प्रदेशबाट २६ जना, गण्डकी प्रदेशबाट १२ जना, लुम्बिनी प्रदेशबाट ३९ जना, कर्णाली प्रदेशबाट १८ जना र सुदूरपश्चिम प्रदेशबाट ३२ जना पक्राउ परेका हुन् । 
पछिल्लो समयमा लागूऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणमा प्रहरीले विशेष अप्रेशन सञ्चालन गरी कार्य गरिरहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले बताउँछन् । उनी भन्छन्, ‘लागूऔषध जस्तो अन्तर्राष्ट्रिय समस्यालाई निराकरण गर्न नेपाल प्रहरी आक्रमक रूपमा प्रस्तुत भइरहेको छ । चाडपर्वको समयमा समेत लागूऔषध कारोबार हुने विभिन्न नाकाहरूमा सुक्ष्म रूपमा सूचना संलकनका साथै योजनावद्ध प्रभावकारी प्रहरी परिचालन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी थप सक्रिय भई कार्य गरिरहेको छ ।’
सो अवधिमा अवैध लागूऔषध गाँजा २ हजार ८ सय ७९ किलो ६८९ ग्राम ६८ मिलिग्राम, चरेस करिब ३६ किलो, अफिम १ किलो ३१६ ग्राम ५२१ मिलिग्राम, हेरोइन १ किलो ७७ ग्राम ९१९ मिलिग्राम, कोकिन २७ ग्राम ६७८ मिलिग्राम तथा  विभिन्न किसिमका नियन्त्रित लागूऔषध समेत प्रहरीले बरामद गरेको छ ।   
 

सुझावित समाचार