कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउन संसदीय विशेष समितिका सभापति पराजुलीको जोड

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ।

समितिका सभापति गणेश पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता औपचारिक भ्रमणमा मात्र सीमित नभई ठोस उपलब्धि हासिल गर्ने गरी तयारी हुनुपर्नेमा जोड दिए। अन्तर्राष्ट्रिय वार्ता तथा संवादमा सहभागी हुने प्रतिनिधिहरू विषयगत रूपमा सक्षम, आवश्यक तयारीसहित र नेपालको हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने हुनुपर्ने उनको धारणा थियो।

बैठकमा सम्बन्धित मन्त्री, मन्त्रालयका सचिव तथा वातावरण महाशाखा प्रमुखसँग कोप–३१ मा नेपालले उठाउने विषयहरूबारे छलफल भएको थियो। प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा तथा सभामुखले अन्तर–संसदीय संघमा व्यक्त गरेका धारणालाई समेत ध्यानमा राखी नेपालको हितअनुकूल अन्तर्राष्ट्रिय वार्ता अघि बढाउनुपर्ने विषय उठाइएको थियो।

सभापति पराजुलीले सम्मेलनमा स्थापना गरिने नेपालको पेभिलियन तथा प्रस्तुत गरिने वृत्तचित्रमार्फत हालैका बाढीपहिरो र जलवायुजन्य विपद्बाट भएका क्षति प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए। साथै, विपद्बाट भएको क्षति मात्र नभई नेपाल सुरक्षित र पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको सकारात्मक सन्देशसमेत अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउनुपर्ने विषयमा विशेष जोड दिए।

बैठकमा समितिका १५ सदस्यलाई नौवटा विषयगत क्षेत्र समेट्ने गरी पाँच समूहमा विभाजन गर्ने विषयमा समेत छलफल भएको थियो। प्रत्येक समूहमा तीन सदस्य रहने प्रस्तावसहित सदस्यहरूको रुचि तथा विषयगत क्षमताका आधारमा जिम्मेवारी निर्धारण गर्ने विषयमा थप छलफल गरिनेछ।

सुझावित समाचार