हमासका वरिष्ठ नेता हानियाको इजरायली हमलामा मृत्यु

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

इरानका नवनिर्वाचित राष्ट्रपतिको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि नै हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियाको इजरायली आक्रमणबाट ज्यान गएको छ।

‘हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उनको मुख्यालयमा भएको यहुदी समूहको आक्रमणमा मारिएका छन्,’ हमासले एक विज्ञप्ति जारी गरी नेता हानियाको मृत्युको पुष्टि गरेको छ। 

इरानको रिभोलुसनरी सुरक्षागार्डले पनि तेहरानस्थित हानियाको निवासमा आक्रमण हुँदा उनीसहित एक अंगरक्षक मारिएको पुष्टि गरेको छ। 

‘तेहरानमा हमास प्रमुख इस्माइल हानियाको निवासमा आक्रमण हुँदा हमास नेता हानिया र उनका एक अंगरक्षकको मृत्यु भएको छ,’ इस्लामिक रिभोलुसनरी गार्डनिकट समाचार संस्था सेपाहले उल्लेख गरेको छ। 

हानिया मंगलबार इरानी राष्ट्रपति मसुद पेजेस्कियनको शपथग्रहण समारोहमा भाग लिन तेहरान आएका थिए। इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।

सन् २००६ मा प्यालेस्टिनी प्रधानमन्त्री बनेका हानिया सन् २०१७ मा खालिद मेसालको उत्तराधिकारीका रूपमा हमासको राजनीतिक विभागका प्रमुखको रूपमा निर्वाचित भएका थिए।  

व्यावहारिकतावादी मानिने हानिया प्रायः टर्की र कतार गरी दुई देशमा निर्वासनमा बस्ने गरेको मानिन्छ। हानियाले हमासका प्रतिद्वन्द्वीहरूसहित विभिन्न प्यालेस्टिनी समूहका प्रमुखहरूसँग राम्रो सम्बन्ध राखेको बताइएको छ। 

इजरायली कब्जाको विरुद्ध पहिलो प्यालेस्टिनी विद्रोहीको रूपमा सन् १९८७ मा हमासको स्थापना भएदेखि नै उनी यस समूहमा सामेल भएका थिए। (रासस/एएफपी)

सुझावित समाचार