अखाद्य वस्तु बेच्ने राजमार्गकाे होटेललाई दुई लाख जरिवाना

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

राजमार्गमा यात्रा गर्ने यात्रुलाई अखाद्य वस्तु बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ चारकिलोमा सञ्चालित न्यू रिया होटेललाई दुई लाख जरिवाना गरिएको छ।

उपभोक्तालाई बासी, सडेगलेको, दूषित अखाद्य वस्तु खुवाएको भेटिएपछि जिल्ला प्रशासन कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरेको हो।

गन्हाएको समोसा, तरकारीलगायतका खानेकुरा बिक्री गरिरहेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा आइतबार प्रहरी र अनुगमन टोली होटेल पुगेको थियो। अघिल्लो दिनमा नै तयार गरिराखेको खानेकुराहरू सडिसकेको फेला परेको र त्यही खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको कसुरमा दुई लाख जरिवाना गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए।

‘आइतबार बिहान एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर रिया होटेलले बासी, सढेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गर्नुभयो। त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटेलमा पुग्यो। फ्रिजमा राखेको खानेकुरासमेत गन्हाएको फेला परेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होेटेल सञ्चालकलाई पक्राउ गरी ल्यायौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने।

‘बिहान बिक्री गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकोले गन्ध आएको स्वीकारसमेत गरेकोले उपभोक्ता संरक्षण ऐनबमोजिम जरिवाना तोकिएको हो। जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान पनि सक्नेछ,’ उनले थपे।

समोसा, तरकारीलगायत खानेकुरा गुणस्तरहीन र बासी भेटिएपछि होटेलका सञ्चालक नुवाकोट शिवपुरी गाउँपालिका–८ का ३९ वर्षीय राजेश पाठकलाई पक्राउ गरिएको छ। एक साताभित्र तोकिएको जरिवाना दाखिला गर्ने समय तोकेर पठाइएको जिल्ला बजार अनुगमन समिति धादिङका सदस्य सचिव एवं उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेघ गौतमले बताए। 

तोकिएको समयमा जरिवाना दाखिला नगरे कारोबार रोक्का गर्न सकिने उनको भनाइ छ। जरिवानामा परेको रिया होटेललाई २०८० असोज ६ गते जिल्ला अनुगमन टोलीले होटेलको किचन र बााहिरी सरसफाइमा ध्यान दिन, कामदारलाई अनिवार्य मास्क प्रयोग गराउन निर्देशन दिएको थियो। विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको पाइएको गौतमले बताए।

जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयसहित नियामक निकायले पछिल्लो समय होटेल तथा पसलहरूको अनुगमनमा कडाइ गरेको छ। यसअघि पनि तोकिएको मूल्यभन्दा बढी लिने होटेल तथा पसलेलाई कालोबजारी गरेको कसुरमा एक लाखसम्म जरिवाना गरिएको थियो।

सुझावित समाचार