अदालतको आदेशसँगै काठमाडौं महानगरपालिकाले न्युरोडआसपासका क्षेत्रमा सडकपेटी विस्तार थालेपछि केही स्थानीयले त्यसविरुद्ध संघर्ष थालेका छन् । शुक्रबार महानगरको डोजर रोक्नेदेखि उनीहरूले मेयर बालेन साहको पुत्लासमेत जलाएर विरोध गरेका छन्।
शुक्रबार बेलुका अबेरसम्मै न्युरोड क्षेत्रमा सडकपेटी विस्तारको विपक्षमा रहेकाहरू जनप्रतिनिधिसहित उपस्थित भएर अवरोध गरेका छन् । सम्भावित झडप रोक्न ठूलो संख्यामा प्रहरीसमेत परिचालन भएको थियो।
सडकपेटी विस्तारका लागि डोजरसहित आएको नगर प्रहरी र डोजर रोक्न बसेका स्थानीयबीच पटक–पटक घम्साघम्सीसमेत भयो। जुद्ध सालिक क्षेत्रमा भेटिएका स्थानीय अमृत मानन्धरका अनुसार शुक्रबार अबेरसम्म पनि महानगरको आधिकारिक व्यक्तिसँग कुनै संवाद हुन सकेन । महानगरले पेलेर जान खोजेको उनको आरोप छ।
‘अहिलेसम्म कुनै पनि संवाद हुन सकेको छैन। यसको मतलब हामीलाई पेलेर जान खोजेको हो। त्यसैले हामी पनि रातभर आलोपालो गरेर बस्ने हो। तर, फुटपाथ विस्तार गर्न दिन्नौँ,’ मानन्धरले भने, ‘महानगरले काम गर्दैगर्दा सडक विभागले काम रोक्यो। महानगरले उच्च अदालतबाट स्टे अर्डर लिएर आयो। त्यो उनीहरूबीचको कुरा हो। हामीले त्यसवेला पनि विरोध गरेका थियौँ। तर, हामीलाई मतलब नै गरेन। हामीले आउनुस् छलफल गरौँ भनेका छौँ। तर, हामीलाई सुनिएन। २४ वडाको कामलाई हेरौँ । त्यहाँको मूल्यांकन गरौँ भन्यौँ । त्यसपछि अगाडि बढौँ भन्दा उनीहरू जसरी पनि काम गर्न मात्र खोज्छन्।’
वडा २३ का अध्यक्ष मचाराजा महर्जनसहित सडकपेटी विस्तारविरुद्ध विरोधमा उत्रिएका छन्। उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्ने बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि न्युरोड क्षेत्रमा काम थालेको हो । बिहीबारदेखि विरोध सुरु भएको हो। शुक्रबार काम नै रोकिएको छ ।
न्युरोडको विषयमा छलफल गरौँ, सहजीकरण गर्न तयार छु : अध्यक्ष महर्जन
महानगरको डोजर रोक्न बसेका वडा २३ का अध्यक्ष मचाराजा महर्जन न्युरोडको विषयमा छलफल गरेर मात्र अगाडि बढ्नुपर्ने भन्दै यसका लागि आफू सहजीकरण गर्न तयार भएको बताउँछन् । ‘असार १० गते नगरसभामा जे बोलेँ, त्यही नै मेरो आधिकारिक धारणा हो,’ महर्जनले भने, ‘न्युरोडको विषयमा पक्ष र विपक्ष धेरै भयो। काम गर्दै गर्दा पक्ष र विपक्ष हुनु राम्रो संकेत होइन । न्युरोड क्षेत्रका कारण अहिले एक–अर्कोमा शंका–उपशंका भएको छ । त्यसमा हामी आफैँ बसेर समाधान गर्न सकिन्छ । सडकपेटी विस्तारको कुरा ठूलो होइन । छलफल गरौँ । समन्वय र सहकार्यका लागि म आफैँ पनि सहजीकरण गर्न तयार छु ।’ महानगरका प्रवक्ता नवीन मानन्धर भने फुटपाथ विस्तार निरन्तर अगाडि बढ्ने बताउँछन् । ‘फुटपाथ विस्तारको काम अब निरन्तर अगाडि बढ्छ । अरू हेर्दै जाऔँला,’ उनले भने ।
६० प्रतिशत सडकपेटी बनाउने महानगरको योजना
गत आर्थिक वर्षको बजेटमार्फत पैदलमार्ग विस्तार सुरु भएको हो । यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) २१ असोज २०८० मा स्वीकृत भएको थियो । प्रतिवेदनका आधारमा ८ मंसिरमा बोलपत्र आह्वान भयो । तीन करोड १९ लाख लागत अनुमान गरिएको कामका लागि दुई करोड ५६ लाख रुपैयाँ (२०.११%) घटी रकममा काम सम्पन्न गर्न प्रस्ताव गर्ने आरोग्य साइटेक जेभीलाई मूल्यांकन समितिले ६ वैशाखमा छनोट गरेको थियो । निर्माण पक्षलाई सार्वजनिक निर्माण विभागले ३ जेठमा कार्यादेश दिएको छ भने १२ जेठदेखि निर्माण कम्पनीले काम थालेको थियो । योजनाअनुसार नयाँ सडक, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडकखण्डका पैदलमार्ग फराकिला हुनेछन् ।
यी क्षेत्रहरू महानगरको वडा २२, २३ र २४ मा पर्छन् । विस्तारसँगै किनारालाई हरियाली बनाउने महानगरको योजना छ । ठाउँ–ठाउँमा विश्रामस्थलसमेत बनाउन लागिएको छ । यसले सो क्षेत्रको मुहार नै फेरिने मेयर साहले बताउँदै आएका छन् । महानगरको योजनाअनुसार फुटपाथ विस्तारपछि न्युरोड गेटदेखि जुद्ध सालिक र इन्द्रचोकसम्मको सडक ११ मिटरको हुनेछ । हाल भइरहेको सडकको चार मिटर चौडाइ घट्नेछ । यस्तै, जुद्ध सालिकदेखि धर्मपथतर्फको सडक ११ मिटरको हुनेछ । यहाँ ६ मिटर सडकको चौडाइ घट्नेछ भने पाको आरबी कम्प्लेसतर्फको सडक ११ मिटरको हुनेछ । यो क्षेत्रमा चार मिटर सडकको चौडाइ घट्नेछ । विस्तारपछि ६० प्रतिशत फुटपाथ र ४० प्रतिशत सडक हुनेछ ।