प्रधानमन्त्री केपी ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको बताएका छन्। इन्जिनियर दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको इतिहास प्रशंसायोग्य भएको उल्लेख गर्दै अहिलेको अवस्था भने त्यति नभएकाे बताए ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा देखिएका विद्यमान समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे । ‘आज सन्तोष मान्ने र खुसी हुने अवस्था छैन, यस अवस्थालाई हामीले बदल्नैपर्छ,’ उनले भने ।
अहिले देशको अवस्था जस्तो भए पनि भविष्य भने उज्ज्वल रहेको प्रधानमन्त्री ओलीले बताए । यसमा कुनै शंका नगरी देश निर्माणको काममा लाग्न ओलीले आग्रह गरे । ‘देश र इतिहास प्रशंसा गर्न लायक छ, हाम्रो गौरवपूर्ण इतिहास छ, भविष्य उज्ज्वल छ । यसमा कुनै शंका नगरी देश निर्माणका सबै एकजुट भएर लाग्नुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले इन्जिनियर देश बनाउने हात भएकाले देश निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले समस्या देखाउने मात्र नभई समाधानका विकल्पहरू देखाउन सबैको ऐक्यबद्धता आवश्यक पर्नेमा जोड दिए । उनले सरकारले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।