शव भेट्न मुस्किल, भेटिए पनि सनाखत गर्न कठिन : चितवन सिडिओ

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

सिमलताल पहिरोमा परेकाहरूको शव सजिलै भेट्ने अवस्था नरहेको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले बताएका छन्। दुर्घटनाको अध्ययन गर्न चितवन आएको नेपाल सरकारबाट गठित समितिलाई बुधबार सम्बोधन गर्दै सिडिओ यादवले यस्तो बताएका हुन्।

उनले भने, ‘सजिलै शव भेट्ने अवस्था छैन। धेरै दिन भएकाले अब शव भेटिए पनि सनाखत हुन कठिन छ।’ उनका अनुसार भेटिएका शवहरू गल्न थालेका छन्।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्सको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बर र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा.प्र ०३–००६ ख १५१६ नम्बरका बस २८ असारमा चितवनको भरतपुर महानगरपालिका– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए। बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचे पनि ६२ बेपत्ता भएका थिए।

चितवन प्रशसनका अनुसार अहिलेसम्म १८ शव फेला परेको छ। तीमध्ये १० जनाको मात्र सनाखत भएको सिडिओ यादवले बताए।

सुझावित समाचार