नुहाउन गएका दिदीबहिनीको कुवामा डुबेर मृत्यु

सोमबार, ३१ असार, २०८१
डिजिटल संस्करण

नुहाउन गएका एकै घरका दिदीबहिनीको कुवामा डुबेर मृत्यु भएको छ । स्याङ्जा पुतलीबजार नगरपालिका– ४ रामकोष स्वाँरास्थित कुवामा डुबेर नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

मृत्यु हुनेमा १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापा छिन् । घरदेखि करिब पाँच सय मिटर दूरीमा रहेको कुवामा लुगा धुन र नुहाउन भनी उनीहरू आइतबार दिउँसो करिब साढे १ बजेतिर घरबाट निस्केका थिए ।

उनीहरू नियमित रूपमा सोही कुवामा लुगा धुन र नुहाउन जाने गरेका थिए । यसअघि जाने र आउने समयभन्दा घर आउन केही ढिलो गरेपछि परिवार र छिमेकीले उनीहरूको खोजी गरेका थिए । सोही क्रममा उनीहरूलाई कुवामा मृत अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ । घटनाबारे प्रहरीलाई स्थानीयले करिब सवा ४ बजेतिर खबर गरेका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा एकजनालाई स्थानीयले कुवाबाट निकालिसकेका थिए । लक्ष्मी कक्षा ९ र सुस्मिता कक्षा ५ मा अध्ययनरत थिइन् । घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट उनीहरू नुहाउने क्रममा डुबेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । 
 

See More On

सुझावित समाचार