सिमलताल दुर्घटना : पाँचजनाकै सनाखत

आइतबार, ३१ असार, २०८१
डिजिटल संस्करण

नवलपुरको गैँडाकोट र चितवनको गोलाघाटमा भेटिएका मृतक दुवै भारतीय नागरिक भएको पुष्टि भएको छ। दुवै सिमलताल दुर्घटनामा परेका यात्रुहरू रहेकोसमेत पुष्टि भएको छ। 

नवलपुरको गैँडाकोट– ९ थुम्सीस्थित नारायणी नदीमा आज भेटिएको शवको सनाखत भएको नवलपुर प्रहरीले जनाएको छ। उक्त शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसका यात्रुको भएको प्रहरीले जनाएको छ। 

भारतको बिहार बेतिया जिल्लास्थित पश्चिम सम्पारण २२ बस्ने वर्ष ४० को सजाद अन्सारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए। उनका दाजु मेराज हुसेनले शवको सनाखत गरेका हुन्।

काठमाडौं कलंकीमा व्यवसाय गरी बस्ने अन्सारी बा.प्र.०३–००६ ख १५१६ नम्बरको बसमा वीरगन्जबाट काठमाडौं जाँदै थिए । उक्त बस दुर्घटनामा परेका यात्रुमध्ये तीनजनाको शव नवलपुरमा भेटिएको छ।

यसअघि शनिबार दुईजनाको शव गैँडाकोट नगरपालिका– ७ गैरीस्थित नारायणी नदीको बीचभागको टापुमा फेला परेको थियो। चितवनको गोलाघाटमा पनि हिजो एकजना र आज एकजना गरी दुईजनाको शव भेटिएको छ।

नदीले शवहरू बगाएर नवलपुरसम्म पुर्याएपछि प्रहरीले खोजीलाई निरन्तरता दिएको छ। त्यसैगरी, चितवनको भरतपुर– २८ गोलाघाटमा भेटिएका दुवै शव पुरुषको रहेको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक व्यक्ति ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर हुन्।

भारत बिहार–पश्चिम चम्पारण बेतियाथाना बस्ने ठाकुरको शव उनका दाइ ओमप्रकाश ठाकुरले सनाखत गरेको प्रहरीले जनाएको छ। ठाकुर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु हुन्। 

बेपत्ता भएकाहरूमध्ये हालसम्म पाँचजनाको मात्र शव भेटिएको छ। पाँचैजनाको सनाखतसमेत भइसकेको छ। शनिबार तीनजनाको र आज दुईजनाको शव भेटिएको हो।

सुझावित समाचार