श्रीमान्–श्रीमती मिलेर सहकारीको एक अर्ब हिनामिना

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण

ललितपुरको कृषि विकास सहकारी संस्थाको एक अर्ब हिनामिनामा संस्थाका अध्यक्ष तेजविक्रम थापा र उनकी श्रीमती सजना राजकर्णिकारको मिलेमतो देखिएको छ । प्रहरीले उनीहरूलाई पक्राउ गरी मुद्दा दायर गरेकोमा अदालतले बिहीबार दुवैलाई पुर्पक्षका लागि कारागार पठाएको छ । 

जिल्ला प्रहरी परिसर, ललितपुर संस्थाका तीन सञ्चालक तथा एक व्यवस्थापकलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । जसमध्ये संस्थाको अध्यक्ष रहेका थापा र व्यवस्थापक रहेकी राजकर्णिकार जेल चलान भएका हुन् । सञ्चालक भीमसेन महर्जनसँग १५ लाख तथा सञ्जय सापकोटासँग पाँच लाख रुपैयाँ धरौटी माग भएको ललितपुर परिसरका एसपी नरेशराज सुवेदीले बताए । 

प्रहरीले पाँच सय ९१ जना सेयर सदस्यको जाहेरी लिएर जिल्ला अदालत, ललितपुरमा मंगलबार मुद्दा दायर गरेको थियो । बचतकर्ताले ९६ करोड दुई लाख रुपैयाँ बिगो दाबी गरेका छन् । अरू धेरै सर्वसाधारणको समेत सो सहकारीमा पैसा फसेको प्रहरी अधिकारी बताउँछन् । 

सञ्चालकहरूले नै संस्थाको पैसा आफ्ना निजी कम्पनीमा लगाएर संस्था डुबाएको अनुसन्धानमा खुलेको छ । थापा ०६० देखि संस्थाको अध्यक्ष थिए । बयानका क्रममा उनले संस्थाको करिब दुई अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगानी भएको बताएका छन् । भक्तपुरको समिट अस्पताल, यती टेक्निक फार्म, अन्नपूर्ण फिडलगायत कम्पनीमा करिब २५ करोड लगानी भएको छ । तर, अनुसन्धानका क्रममा संस्थाबाट कुन–कुन कम्पनीमा कति ऋण प्रवाह भएको छ भन्नेतर्फ विस्तृत अनुसन्धान भने हुन सकेको छैन ।

See More On

सुझावित समाचार