घाटामा रहेको कम्पनीलाई फर्जी कागजात पेस गरी नाफामा रहेको देखाइएको र सोही कागजातका आधारमा महँगो मूल्यमा आइपिओ जारी गर्न लागेको आशंकामा छानबिन हुँदै
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि धितोपत्र बोर्ड (सेवन)मा पेस गरिएका कागजातमाथि अनुसन्धान थालेको छ । घाटामा रहेको कम्पनीलाई फर्जी कागजात पेस गरी नाफामा रहेको देखाइएको र सोही कागजातका आधारमा महँगो मूल्यमा आइपिओ जारी गर्न लागेको सूचनाका आधारमा सिआइबीले बुधबारदेखि अनुसन्धान थालेको हो ।
विशेष गरी बुक बिल्डिङको मूल्य तय, रिलायन्सको वित्तीय विवरण, संस्थागत लगानीकर्ताले खरिद गरेको सेयर, लगानीको सुरक्षालगायत विषय शंकास्पद रहेको सिआइबीका एक अधिकारीले बताए । ‘रिलायन्सले आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा पेस गरेको कागजात शंकास्पद देखिन्छ । घाटामा रहेको कम्पनीलाई अत्यधिक नाफामा रहेको देखाइएको छ । सोही आधारमा महँगो मूल्यमा आइपिओ निष्कासन गर्ने तयारी गरेको देखिन्छ । त्यसो हुँदा सिआइबीले घटनाको अनुसन्धान सुरु गरेको छ,’ ती अधिकारीले भने ।
सिआईबीले अनुसन्धान थालेको विषयमा धितोपत्र बोर्डलाई पनि औपचारिक जानकारी गराइसकेको छ । बुधबार सिआइबीबाट यसबारे पत्र नै आएको बोर्ड स्रोतको भनाइ छ ।
रिलायन्सले बिहीबारबाट लागू हुने गरी कम्पनीको ११ लाख ५५ हजार ९६० कित्ता आइपिओ सर्वसाधारणका लागि जारी गर्न लागेको थियो । आइपिओको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ निर्धारण गरेको थियो । तर, संसद्को सार्वजनिक लेखा समितिले स्पष्टीकरण सोधेपछि बोर्डले बुधबार रिलायन्सको आइपिओ निष्कासनमा रोक लगाएको थियो ।
लेखा समितिको स्पष्टीकरणभन्दा पनि प्रहरीले अनुसन्धान सुरु गर्ने भएपछि बोर्डले रिलायन्सको आइपिओ निष्कासनमा रोक लगाएको स्रोतको दाबी छ । ‘रिलायन्सको आइपिओ निष्कासन रोक्का गर्नुमा लेखा समितिको निर्देशन भनिएको छ । तर, खासमा बोर्डमा पेस भएका कागजात सिआइबीले अनुसन्धान गर्ने भएपछि रिलायन्सले आइपिओ निष्कासन रद्द गरेको हो । घटनामा बोर्डका पदाधिकारीको पनि मिलेमतो देखिन्छ । अनुसन्धान सुरु भइसकेको छ,’ सिआइबी स्रोतले भन्यो ।
रिलायन्स स्पिनिङ मिल्समा औद्योगिक घराना गोल्यान र एमएस समूहको संयुक्त लगानी छ । स्रोतका अनुसार आइपिओका लागि बोर्डमा पेस गरिएको कागजातमाथि सिआइबीले अनुसन्धान सुरु गर्न लागेको सूचनापछि रिलायन्सका सञ्चालकसहितको टोलीकै लबिइङमा संसद्को सार्वजनिक लेखा समितिले त्यसबारे छलफल गरेको थियो । मंगलबार बसेको समितिलेको बैठकले आइपिओ निष्कासनका सन्दर्भमा बोर्डलाई स्पष्टीकरण सोधेको थियो । त्यसपछि बुधबार बोर्डले आइपिओ निष्कासनमा रोक लगाउने निर्णय गरेको हो ।
बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले कम्पनीलाई आइपिओ निष्कासन प्रक्रिया रोक्का गर्न पत्राचार गरेको बताए । समितिलाई सात दिनभित्र जवाफ दिने निर्णय पनि भएको जानकारी उनले दिए । ‘रिलायन्सको आइपिओ रद्द भएको छ । यसका लागि पत्राचार भएको साँचो हो । अर्थ समितिले स्पष्टीकरण सोधेको छ । सात दिनभित्र हामीले स्पष्टीकरण पेस गर्नेछौँ,’ उनले भने ।
लेखासमितिले बुक बिल्डिङको मूल्य तय, रिलायन्सको वित्तीय विवरण, संस्थागत लगानीकर्ताले खरिद गरेको सेयर, लगानीको सुरक्षालगायतका विषयमा सात दिनभित्र स्पष्टीकरण पठाउन भनेको थियो । बोर्डका अनुसार आवेदकले न्यूनतम ५० कित्ता आइपिओ खरिद गर्नुपर्ने मापदण्ड बनाएको थियो । जसका लागि कम्तीमा ४१ हजार ४० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्थ्यो । त्यसो हुँदा २३ हजार ११९ आवेदकले मात्रै सेयर पाउन सक्थे । आवेदन १० साउनभित्र पेस गरिसक्नुपर्ने तय भएको थियो । आवेदन धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक, वित्तीय संस्था, तीनका शाखा कार्यालय र मेरो सेयरमार्फत दिन सक्ने भनिएको थियो । ०५४ मा स्थापित रिलायन्सले कटन, एव्रmेलिक्स, पोलिस्टर अल्लोलगायतका कच्चापदार्थ खरिद गरी विभिन्न प्रकृतिको धागो उत्पादन गर्दै आएको छ ।
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका उपाध्यक्ष महेश पोखरेलले धितोपत्र बोर्डबाट आइपिओ निष्कासन प्रक्रिया अघि नबढाउन पत्र आए पनि सिआइबीले छानबिन थालेको विषयमा जानकारी नभएको बताए । ‘नेपाल धितोपत्र बोर्डले तत्काललाई आइपिओ निष्कासन प्रक्रिया अघि नबढाउन भन्दै पत्र पठाएको छ । त्यसपछि आइपिओ निष्कासन प्रक्रिया स्थगित गरिसकेका छौँ । यस विषयमा सिआइबीले छानबिन थालेको भन्ने विषयमा भने जानकारी छैन । सिआइबीले छानबिन गर्नुपर्ने इस्यु नै छैन,’ उनले भने ।