गोरख बक्स गण मंगलसेन अछामको नवौँँ समूहको सैन्य तालिममा सहभागी ‘सैन्य आधार तालिमको अन्तिम दलेल कवाज’ पूरा भएसँगै एक सय चारजना नेपाली सेनाका लागि योग्य भएका छन्।
सिपाही भएकाहरूलाई गोरख बक्स गणका प्रमुख सेनानी जनक सिलवालले अन्तिम दलेल कवाज निरीक्षण गर्दै जनता, सैनिक संगठन र राष्ट्रको रक्षाका लागि जिम्मेवारी बहन गर्न निर्देशन दिए।
उनले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनताको सुरक्षाका लागि नेपाली सेनाको गौरवमय इतिहास रहेकाले त्यसलाई संरक्षण गर्न दिएको जिम्मेवारी सेनाको मूल्य र मान्यताभित्र रहेर इमानदारपूर्वक बहन गर्न स्मरण गराए।
‘राष्ट्रको मेरुदण्ड नेपाली सेनाले दिएको जिम्मेवारीलाई बफादार एवं अनुशासित ढंगबाट पालना गर्न सक्नुपर्छ,’ उनले भने, ‘इमानदार र कर्तव्यनिष्ठ भएर सेवामा समर्पित हुनु, आजदेखि भविष्यको ढोका खुलेको छ।’
उनले दीक्षित सैनिकलाई सेनाको मुख्य दायित्वको अतिरिक्त विपत् व्यवस्थापन, विकास निर्माणमा सहयोग, वन सम्पदा तथा पर्यावरण संरक्षण, महत्त्वपूर्ण संरचनाको सुरक्षा, स्थानीय प्रशासनलाई सहयोगसहित विश्वमा शान्ति स्थापनार्थ दिँदै आएको सेवामा विश्वसनीय संस्थाको रूपमा बनाएको छवि कायम राख्न पनि आग्रह गरे।
१७ वैशाख ०८० मा अछाम सदरमुकाम मंगलसेन आएको गोरख बक्स गणले नवौँ समूहको रूपमा सञ्चालन गरेको यो तालिमका क्रममा व्यावहारिक र सैद्धान्तिकलगायत विभिन्न कार्यमा उत्कृष्ट भएका नयाँ सिपाहीहरू पंकज बुढामगर, विनोद खत्री, सागर साउद, लोकेन्द्र बोहरा, उमेश बुढा र गम्भीर साउदलाई पुरस्कृतसमेत गरिएको छ।
सैन्य आधार तालिमको अन्तिम दलेल कवाज समारोहमा सहभागी सिपाहीका आफन्तहरूले उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूलाई फूलमाला र अबिर लगाएर बधाई दिएका थिए।
समारोहमा अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीलगायतले पनि अवलोकन गरेका थिए।