अखिल नेपाल फुटबल संघको आयोजनामा यही ३० असारदेखि हुने ललित स्मृति एन्फा यू–१८ युथ लिगको विजेताले एक लाख प्राप्त गर्ने भएको छ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष तथा लिग संयोजक दीपक खतिवडाले लिग विजेताले एक लाख तथा उपविजेतालाई ५० हजार प्रदान गरिने घोषणा गरे।
उनका अनुसार विधागततर्फ उत्कृष्ट हुनेलाई १५ हजार प्रदान गरिनेछ।
संयोजक खतिवडाले प्रतियोगिताको तयारीबापत सहभागी क्लबले तीन लाख ५० हजार प्राप्त गरिने र लिगका सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आयोजना गरिने जानकारी दिए।
यही ३० असारदेखि सुरु हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन्। उक्त खेल दिउँसो १ बजे सुरू हुनेछ।
प्रतियोगितामा गत संस्करणमा ‘ए’ डिभिजन खेलेका एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्री-स्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब पनि प्रतिस्पर्धामा सहभागी हुने आयोजकले जनाएको छ। (रासस)