सबै पदमा प्रत्यक्ष निर्वाचित हुने विधि तय गरेका छौँ : जीवनराम श्रेष्ठ

एकीकृत समाजवादीको महाधिवेशन

आइतबार, १६ असार, २०८१
डिजिटल संस्करण
सबै पदमा प्रत्यक्ष निर्वाचित हुने विधि तय गरेका छौँ : जीवनराम श्रेष्ठ

जीवनराम श्रेष्ठ, महाधिवेशन मूल व्यवस्थापन समिति सचिवालयका सदस्यसचिव तथा केन्द्रीय सचिव, एकीकृत समाजवादी

महाधिवेशनको तयारी कहाँ पुग्यो ?
हामीले सम्पूर्ण तयारी सम्पन्न गरेका छौँ । भृकुटीमण्डपमा जम्मा भएर र्यालीसहित प्रज्ञा भवन जान्छौँ । आइतबार उद्घाटन कार्यक्रम हुन्छ । बन्दसत्र पनि प्रज्ञा भवनमै हुन्छ । महाधिवेशनको सम्पूर्ण कार्यक्रम प्रज्ञा भवनमै राखेका छौँ ।

उद्घाटन सत्रमा क–कसलाई आमन्त्रण गरिएको छ ? 
राजनीतिक दलका नेताहरूलाई शुभकामनाका लागि आमन्त्रण गरेका छौँ । प्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बोलाएका छौँ । समाजवादी मोर्चामा रहेका दलका नेतालाई पनि बोलाएका छौँ । उहाँहरूलाई शुभकामनाका लागि समय दिन्छौँ । 

बन्दसत्र कसरी चल्छ ?
सोमबारबाट बन्दसत्र सुरु हुन्छ । बन्दसत्रमा दस्ताबेज पेस गर्ने काम हुन्छ । त्यही अवसरमा हामीले कम्युनिस्ट आन्दोलनमा योगदान गरेका व्यक्तित्वलाई पनि सम्मान गर्दै छौँ । बन्दसत्रमा करिब १९ सय प्रतिनिधि सहभागी हुनुहुनेछ । मूल हलमा नअट्ने भएकाले अन्य हलमा स्क्रिन राखेर प्रत्यक्ष हेर्न सकिने गरी तीन–चारवटा हलमा बस्नुहुनेछ । उद्घाटन सत्रका लागि चाहिँ बाहिर पनि ठूला स्क्रिन राखेका छौँ । प्रतिनिधिलाई नास्ता र खानाको व्यवस्था गरिएको छ ।

नेतृत्व चयन कसरी हुन्छ ?
दस्ताबेजलाई व्यापक छलफल गरेर सर्वसहमतिमा ल्याएका छौँ । हामीले पहिलोपल्ट नेपाली विशेषताको समाजवादको कार्यक्रमलाई क्रान्तिको कार्यक्रम भनेर ल्याएका छौँ । यो नेपालको कम्युनिस्ट आन्दोलनमा विचारका रूपमा पहिलोपटक संस्थागत रूपमा ल्याउने काम गरेका छौँ । विधान संशोधन प्रस्ताव पनि लाँदै छौँ । २१ जना पदाधिकारीसहितको २९९ जनाको केन्द्रीय कमिटी निर्वाचित हुनेछ । सम्मानित नेताको पद सुरक्षित गरिएको छ । वरिष्ठ उपाध्यक्ष र आवश्यकताअनुसार वरिष्ठ नेताहरू राख्न सकिने व्यवस्था गरिएको छ । यी सबै पदमा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने विधि तय गरेका छौँ । 

सुझावित समाचार