त्रिविका उपप्राध्यापक माधव न्यौपानेलाई ३ प्रश्न

बुधबार, ११ कार्तिक, २०८३
प्रिन्ट संस्करण

कांग्रेसको नयाँ टिम कस्तो बनेको देख्नुहुन्छ ?
कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीमा शुद्धीकरण, वैचारिक रूपमा सबलीकरण र नेतृत्वमा पुस्तान्तरण पनि गरेको छ । जेन–जी आन्दोलनपछिको बदलिँदो सिनारियोअनुरूप पार्टीलाई अघि बढाउने प्रतिबद्धतासाथ नयाँ टिम आएको छ । पार्टीमा लामो समयदेखि पुस्तान्तरणको आवाज उठ्दै आएको भए पनि यो महाधिवेशनले पार्टीमा वास्तविक रूपमै पुस्तान्तरण गराएको छ । ३५ वर्षमुनिको युवा क्लस्टरबाट धेरैजना केन्द्रीय समितिमा पुग्नुभएको छ । साथै, पहिलोपटक पेसागत विषयविज्ञहरू पनि पार्टी केन्द्रमा पुग्नुभएको छ । साथै, विभिन्न क्लस्टरबाट समावेशी प्रतिनिधित्व भएको छ । अधिकांश पदाधिकारी युवा हुनुहुन्छ । भर्खर नेविसंघ या तरुण दलमा भएका नेताहरू केन्द्रीय समितिमा निर्वाचित हुनुभएको छ । यसबाट युवा जोस, जाँगर, उत्साह तथा उनीहरूको शिक्षा र सोचलाई पार्टी संगठनमा खर्चिने वातावरण बनेको छ । यसले गर्दा कांग्रेस आगामी दिनमा थप चुस्त बन्ने विश्वास गर्न सकिन्छ ।

नयाँ टिमले कांग्रेसको पुरानो विरासत फर्काउन सक्ला त ?
बदलिँदो परिवेशमा कांग्रेसको नयाँ टिमले पुरानै विरासत फर्काउने सम्भावना बलियो देखिन्छ । आमयुवा, सिंगो देश र विश्व परिवेशले समेत आशा गरेको नेतृत्वको हातमा कांग्रेस पुगेको हुनाले पार्टीप्रति आमआकर्षण पुनः बढेको छ । विगतमा अन्यत्र लाग्नुभएका नेताहरू पनि कांग्रेसमा फर्किनुभएको छ । यसले आमपार्टी पंक्तिमा आशा र ऊर्जा थपिएको देखिन्छ । जसले गर्दा कांग्रेस भविष्यमा जनताको विश्वास जित्ने पार्टी बन्ने विश्वास गर्न सकिन्छ ।

पार्टीमा पूर्वसभापति शेरबहादुर देउवा समूहको समानान्तर गतिविधिको प्रभाव कस्तो पर्ला ?
शेरबहादुर देउवा समूहको आस अदालती प्रक्रियाप्रति हुन सक्छ । अहिले हेर्दा सुदूरपश्चिममा यो समूहको केही प्रभाव देखिए पनि अन्यत्र महाधिवेशन प्रतिनिधि चयन गर्नसमेत हम्मे परेको देखिन्छ । त्यसैले, यो समूहको समानान्तर गतिविधिले कांग्रेसको जीवनमा ताŒिवक प्रभाव पार्न सक्ने देखिन्न । आगामी निर्वाचनअगावै या निर्वाचनपछि यो समूह संस्थापन कांग्रेसमै समाहित हुने निश्चित छ । 

सुझावित समाचार