एमालेले राष्ट्रिय भेला किन आयोजना गर्दै छ ?
पछिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीका दुईवटा राष्ट्रिय अभिभारा निर्धारण गरेको थियो– लोकतन्त्रको रक्षा र आगामी स्थानीय निर्वाचनको तयारी । यसका लागि सिंगो पार्टीपंक्तिको बुझाइमा एकरूपता ल्याउनु आवश्यक थियो । यसबिच सरकारका गलत क्रियाकलापको आलोचना गरी भन्डाफोर गर्नु पनि जरुरी छ । यी सबै कार्यमा सिंगो पार्टीपंक्ति परिचालन गर्न र बलियो जनमत सिर्जना गर्न यो भेला आयोजना गरिँदै छ ।
भेलाले एमालेको पार्टी जीवनलाई चलायमान गराउनेमा कति विश्वस्त हुनुहुन्छ ?
भेलाले पक्कै पनि पार्टी जीवनलाई चलायमान गराउनेछ । एघारौँ राष्ट्रिय महाधिवेशनपछिको यो नै पार्टीको सबैभन्दा ठुलो जमघट हो । पछिल्लो निर्वाचनमा पार्टीले धक्का खायो । त्यसपछि स्वाभाविक रूपमा पार्टीभित्र केही प्रश्न उठे । ती प्रश्नको समाधानका लागि पार्टी केन्द्रले एक कमिटी नै बनाएर तलसम्म पुगेर सुझाव संकलन गरायो । सुझाव संकलनका क्रममा पार्टी रूपान्तरण र पुस्तान्तरणका आवाज पनि उठे । पार्टीभित्र ध्रुवीकरण पनि देखियो । राष्ट्रिय राजनीतिमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने समयमा आन्तरिक विवादले एमालेको भूमिकालाई कमजोर बनायो । पछि केन्द्रीय कमिटी बैठकले प्रतिवेदनमा उठेका सुझावलाई आत्मसात् गरी सो ध्रुवीकरण अन्त्य गर्यो । केन्द्रीय कमिटीले टुंग्याइसकेका विषयमा भेलाबाट कुनै आधिकारिक निर्णय त हुँदैन । तर, सिंगो पार्टीपंक्तिको बुझाइमा एकरूपता ल्याउने कार्य भने भेलाले गर्नेछ ।
पार्टीलाई जनतासित जोड्नमा भेला कति प्रभावकारी होला ?
निःसन्देह रूपमा पार्टीलाई जनतासित जोड्ने कार्यमा भेला प्रभावकारी हुनेछ । पछिल्लो केन्द्रीय कमिटी बैठकमा कार्यदलले तयार गरी परिमार्जन गरिएको प्रतिवेदन तथा अध्यक्षको अलग प्रतिवेदनमा पनि जनतासित जोडिने र युवालाई पार्टीमा आकर्षित गर्नेलगायत विषय समेटिएका छन् । त्यसैले, विगतमा सहरमुखी र केन्द्रमुखी भएको पार्टीपंक्तिलाई जनताका घरदैलोमा पुर्याउन र जनताका समस्या उठान गरी तिनलाई पूरा गराउन दबाब दिन यो भेला प्रभावकारी हुनेछ ।