तिहारका के–कस्ता धार्मिक तथा सांस्कृतिक महत्व रहेका छन् ?
तिहार नेपालीहरूले मनाउने पर्वमध्ये विविध धार्मिक तथा सांस्कृतिक महत्व बोकको विशेष राष्ट्रिय पर्व हो । सनातन वैदिक संस्कृतिअनुसार कुनै पनि शुभकर्म उपयुक्त तिथि र बारवेलामा गर्दा तिनबाट आरोग्य, सुख र समृद्धि प्राप्ति हुन्छ । यही मान्यता अनुसरण गर्दै यो पर्व मनाइने भएकाले ‘तिथि+बार’, ‘तिहि+बार’ हुँदै नेपालीमा तिहार बन्न पुगेको देखिन्छ । यसैले, कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुक्ल पक्षको द्वितीयासम्म पाँच दिन भव्यतासाथ धार्मिक र सांस्कृतिक गतिविधि सम्पन्न गरेर यो पर्व मनाइन्छ । यिनै पाँच दिनमध्येकै अन्तिम दिनमा यमराजले आफ्नी बहिनी यमुनाका घरमा गई पूजा र टीका ग्रहण गरेकाले तिहारका यी पाँच दिनलाई यमपञ्चक पनि भन्ने गरिएको हो । तिहारका पाँच दिनमध्ये सुरुका चार दिनमा काग, कुकुर, गाई, गोरु र गोवर्धन पर्वतको पूजा गर्ने र अन्तिम दिन दिदीबहिनीले दाइभाइको पूजा र दाइभाइले दिदीबहिनीको सम्मान गर्ने गरिन्छ । सबै प्राणीलाई समान किसिमले व्यवहार गरिनुले ‘वसुधैव कुटुम्बकम्’ अर्थात् पृथिवी सबैको साझा घर भएकाले यहाँका सबैलाई समान किसिमले सम्मान गर्नुपर्छ भन्ने सन्देश यस पर्वले दिएको छ ।
तिहारले नेपाली समाजमा पार्ने सामाजिक प्रभाव कस्तो देख्नुहुन्छ ?
तिहार नेपाली समाजमा सद्भाव, पारिवारिक एकता र पारस्परिक स्नेह अभिवृद्धि गर्ने महत्वपूर्ण पर्व हो । अहिले भने यस पर्वमा अत्यधिक मदिरा सेवन, जुवातासको कुलत, पटाकाको दुरुपयोगका कारण ध्वनि र वायु प्रदूषणजस्ता विकृति भित्रिएका छन् । तिहारका सांस्कृतिक पक्षलाई सम्मान र विकृत पक्षलाई परित्याग गरेमा यो पर्व नेपाली समाजको रूपान्तरण र सद्भाव अभिवृद्धिको प्रभावकारी माध्यम बन्न सक्छ ।
तिहारमा बत्ती, फूल र रङको महत्व किन देखिएको होला ?
तिहार उज्यालो, सौन्दर्य, उमङ्ग र उल्लासको पर्व भएकाले यस पर्वमा बत्ती, फूल र रङले विशेष महत्व राख्छन् । यी वस्तुमध्ये बत्तीलाई सनातन वैदिक संस्कृतिमा उज्यालो, ज्ञान र सकारात्मकताको प्रतीक, फूललाई पवित्रता, सौन्दर्य, प्रेम र आत्मीयताको प्रतीक र रङलाई खुसी, उमङ्ग, उत्साह र विविधिताको प्रतीकका रूपमा लिइएकाले तिहारमा बत्ती, फूल र रङको विशेष महत्व रहेको हो ।