सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई ३ प्रश्न

सोमबार, २६ असोज, २०८३
प्रिन्ट संस्करण

अहिले काठमाडौं उपत्यकाभित्र रुघाखोकी र ज्वरोका बिरामी कति बढेका छन् ?
ज्वरो र रुघाखोकीका कारण स्वास्थ्य परीक्षण गराउन आउनेको संख्या निकै बढेको छ । उहाँहरूले घरपरिवार र छरछिमेकका धेरैमा यस्तो समस्या रहेको बताउनुभएको छ । यसबाट अहिले यो समस्या समुदायस्तरमै फैलिएको अनुमान लगाउन सकिन्छ । 

रुघाखोकी र ज्वरोको अवस्था कति जटिल देखिन्छ ?
सामान्यतः हामीकहाँ रुघाखोकी के नै हो र भन्ने गरिन्छ । तर, यही रुघाखोकीकै कारण विश्वभर बर्सेनि हजारौँ मानिसको मृत्यु भएको तथ्यांक छ । यो समस्या विकसित देशहरूमा समेत छ । अमेरिकामा समेत फ्लुसँग सम्बन्धित मृत्युको संख्या एक वर्षमा २०–३० हजारबाट बढेर ४०–५० हजारमा पुगिरहेको देखिन्छ । बेलायतमा पनि निकै बढेको देखिन्छ । त्यसैले, हामीले पनि सतर्कता अपनाउनु आवश्यक छ । आत्तिनैपर्ने अवस्था नभए पनि दुई–चार दिन घरमै बसेर आराम गर्नु ठिक हुन्छ । 

यो समस्याबाट जोगिन के गर्नुपर्ला ? 
यसबाट जोगिन घरबाट बाहिर निस्किँदा मास्क लगाउनुपर्छ । खाना खानुअघि साबुनपानीले राम्ररी हात धुनुपर्छ । किनेर लगाउनुपर्ने भए पनि फ्लुको खोप पनि पाइन्छ । खोप लगाउँदैमा रुघाखोकी लाग्दैलाग्दैन भन्ने त होइन, तर लागिहालेको अवस्थामा जोखिम कम हुन्छ ।

ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगी, गर्भवती, रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूलाई अप्ठ्यारो पार्न सक्ने भएकाले उनीहरूका लागि खोप प्रभावकारी साबित हुन सक्छ । यस्तो अवस्थामा सबैले आराम बढी गर्नुपर्छ । दुई–चार दिन घरमै बस्नु ठिक हुन्छ । झोलिलो चिज बढी सेवन गर्नुपर्छ । लक्षण देखिएपछि बेवास्ता गर्नुभन्दा चिकित्सकसँग परामर्श लिनु बुद्धिमानी हुन्छ ।

सुझावित समाचार