यसपालि दसैँलक्षित टिकटको अग्रिम बुकिङ कहिलेदेखि खुला गर्दै हुनुहुन्छ ?
यसबारे छलफल गर्न मंगलबार (असोज २० गते) यातायात व्यवस्था विभागले सरोकारवाला सबैको बैठक बोलाएको छ । त्यहाँ यस विषयमा छलफल हुन्छ । बैठकले नै टिकटको अग्रिम बुकिङ खुलाउनेबारे निर्णय गर्छ । टिकटको बुकिङ खुलाउनुअघि सडकको अवस्थाबारे प्रस्ट हुनु जरुरी छ । सरकारले तदारुकतासाथ सडक मर्मत कार्य गरिरहेको छ । अहिले कांग्रेसको महाधिवेशनका कारण पनि सडकमा यात्रुको चाप बढेको छ । अब केही दिनमै दसैँका यात्रुको चहलपहल सुरु हुन्छ । त्यसमा कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत थपिँदा सडकमा चाप त बढ्छ नै । हामी दसैँको समयमा यात्रुको सुरक्षित यात्राका लागि सचेत छौँ ।
कति यात्रु काठमाडौंबाट बाहिरिने अपेक्षा गर्नुभएको छ ?
यतिखेर देश दुःखको घडीमा छ । नयाँ सवारीसाधन थपिने अवस्था छैन । सडकको अवस्था पनि त्यति भरपर्दो छैन । थप पानी पर्ने भविष्यवाणी पनि आइरहेको छ । यस्तोमा थप केही अप्ठ्यारो भएन र सबै सहज हुँदै गयो भने यसपटकको दसैँमा १५–१६ लाख यात्रुले यात्रा गर्ने अनुमान छ ।
चाडबाडको मुखमा सुरक्षित यात्राका लागि के–कस्ता तयारी गर्नुभएको छ ?
यसका लागि हामीले देशका मुख्यमुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्दै छौँ र कतिपय स्थानमा गरिसकेका पनि छौँ । समयमै बस छुटोस् र समयमै सुरक्षित रूपमा गन्तव्यमा पुगोस् भन्नेमा हाम्रो विशेष चासो रहन्छ । समयमै पुग्न सकेको अवस्थामा यात्रुलाई पनि सजिलो हुन्छ । चालक, सहचालकले पनि आराम पाउँछन् र सवारीसाधनको प्राविधिक चेकजाँचका लागि पनि समय प्राप्त हुन्छ । यस्तो अवस्थामा यात्रुदेखि चालक र सहचालकसम्म सबैले मुस्कानसहितको यात्रा र सेवा प्रवाह गर्नुपर्ने हुन्छ । तनावरहित भई यात्रा गर्न पाएमा मात्र त्यस्तो यात्रा सुरक्षित हुन सक्छ । साथै, बाटोको अवस्था बुझेर मात्र सवारी सञ्चालन गर्ने र यात्रुहरूले पनि यात्रा गर्नेतर्फ ध्यान दिनुपर्छ ।