धनगढीमा भएको पाँचौँ सुदूरपश्चिम स्पोर्टस् अवार्डमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी बनेका छन् । ०८० को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका ऐरी र कबड्डीकी बडू घोषित भए । वर्ष पुरुष खेलाडीको मनोनयनमा ऐरीले भलिबलका टेकराज अवस्थी र भारोत्तोलनका सागर भण्डारी परेका थिए । त्यस्तै, महिलातर्फ कबड्डीकी बडूसँगै क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना मनोनयनमा परेका थिए । उत्कृष्ट खेलाडीले ३५–३५ हजार रुपैयाँ पाएका छन् ।
कबड्डीका विष्णुदत्त भट्ट वर्ष प्रशिक्षक भएका छन् । वर्ष प्रशिक्षक विधामा भारोत्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी मनोनयनमा परेका थिए । उत्कृष्ट प्रशिक्षक भट्टले ३० हजार रुपैयाँ पाए । वर्ष युवा खेलाडी भारोत्तोलनका हेमन्त पाल भएका छन् । यो विधामा फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द मनोनयनमा परेका थिए । पालले २५ हजार पुरस्कार प्राप्त गरे ।
सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट र आइकन महिलामा एथलेटिक्सकी देवकी धामी घोषित भए । यस विधामा पुरुषतर्फ एथलेटिक्सका आशिष महर र शारीरिक सुगठनका रञ्जित लामा तथा महिलामा क्रिकेटकी मनीषा बोहरा र फुटबलकी विर्सना चौधरी मनोनयनमा परेका थिए । सुदूरपश्चिम आइकन पुरुष र महिला विधाका विजेताले समान २० हजार रुपैयाँ पाएका छन् ।
विष्टलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
लाइफटाइम अचिभमेन्ट अवार्ड तेक्वान्दो प्रशिक्षक गोविन्द विष्टले पाएका छन् । उनले २५ हजार प्राप्त गरे । स्पेसल अवार्ड पौडीका अथर्व सिंह र कराँतेका प्रदीप वैजाली मगरले संयुक्त रूपमा पाएको आयोजकले जनाएको छ । दुवै खेलाडीले जनही १२ हजार पाँच सय रुपैयाँ हात पारे ।
विजयी खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकासमन्त्री ओमविक्रम भाट, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहलगायतले पुरस्कृत गरेका छन् । वर्ष ०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको हो । खेलकुद पत्रकार मञ्च कैलालीले स्पोर्टस् अवार्ड आयोजना गरेको हो ।