बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र जारी गर्ने व्यवस्था खुकुलो

नोक्सानी भएका बैंकलाई पनि ऋणपत्र जारी गर्न दिने, दायित्व नपर्ने, तर पुँजीमा गणना गर्न पाइने सेयर जारी गर्न दिने सुविधा

बिहिबार, १३ असार, २०८१
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ऋणपत्र जारी गर्ने व्यवस्था खुकुलो बनाएको छ । राष्ट्र बैंकले चुक्ता पुँजीको दबाब कम गर्न मिल्ने गरी यस्तो सुविधा दिएको हो । अब चुक्ता पुँजीको पाँच प्रतिशतसम्म सञ्चित नोक्सानी रहेका बैंक तथा वित्तीय संस्थाहरूले पनि ऋणपत्र जारी गर्न पाउने भएका हुन् । केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि सञ्चित नोक्सानी शून्य बनाएपछि मात्रै ऋणपत्र जारी गरिने व्यवस्था थियो । 

बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजी कोष दबाब थेग्न समस्या भएपछि केन्द्रीय बैंकले यस्तो सुविधा ल्याएको हो । पछिल्लो समय कर्जा निक्षेपको अनुपातको आधार बैंक तथा वित्तीय संस्थाको लगानीयोग्य पुँजी सहज अवस्थामा भए पनि पुँजीकोष अनुपातको कारण कर्जा विस्तार हुन सकेको छैन । कुल जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष ८.५ प्रतिशत हुनुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्था यो सीमानजिक पुगेकाले केन्द्रीय बैंकले सहजीकरण गरिदिएको हो । 

बैंक तथा वित्तीय संस्थालाई दायित्व नपर्ने, तर पुँजी कोषमा गणना गर्न मिल्ने किसिमको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न पाउने सुविधा दिइएको छ । यस्तो सेयर पुँजी कोषमा गणना हुने भएकाले बैंक तथा वित्तीय संस्थालाई पुँजी कोषको अनुपात पुर्याउन सहयोग हुन्छ । साथै, यस्तो सेयरधनीलाई वित्तीय संकटका कारण लाभांश नदिने अवस्था सिर्जना भएमा दिनैपर्ने बाध्यता हुँदैन । अग्राधिकार सेयर लिनेहरूलाई मताधिकार पनि नहुने भएकाले बैंक तथा वित्तीय संस्थाले विनाव्यवस्थापकीय हस्तक्षेपमा पुँजीको उपयोग गर्न पाउँछन् । 

सुझावित समाचार