थाइल्यान्डले समलिंगी विवाहलाई मान्यता दिने

बुधबार, ५ असार, २०८१
डिजिटल संस्करण
थाइल्यान्डले समलिंगी विवाहलाई मान्यता दिने

तस्बिर : राेयटर्स

सिनेटले विवाहसम्बन्धी समानता विधेयक पारित गरेपछि थाइल्यान्ड समलिंगी विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको पहिलो राष्ट्र बन्ने भएको छ।

माथिल्लो सदनमा मंगलबार उपस्थित १५२ सदस्यमध्ये विधेयकको पक्षमा १३०, विपक्षमा ४ र १८ अनुपस्थित भएसँगै विधेयक बहुमतका साथ पारित भएको अल जजिराले जनाएको छ।

यो विधेयक अब औपचारिक स्वीकृतिका लागि राजा महा भाजिरालोङ कोर्नसमक्ष प्रस्तुत हुनेछ। शाही राजपत्रमा प्रकाशित भएको १२० दिनपछि लागू हुनेछ।

ताइवान र नेपालपछि समलिंगी विवाहलाई अनुमति दिने कानुन लागू गर्ने थाइल्यान्ड तेस्रो एसियाली मुलुक हुनेछ। समलिंगी अधिकारकर्मीहरूले थाइल्यान्डको यस कार्यको उच्च प्रशंसा गरेका छन्।

विधेयकले पुरुष, महिला, पति र पत्नीलाई लैंगिक–तटस्थ शब्दमा पुनः नामकरण गरेको छ। विवाहलाई दुई व्यक्तिहरूबीचको साझेदारीका रूपमा परिभाषित गरिएको छ।

थाइल्यान्डमा लेस्बियन, समलिंगी, उभयलिंगी वा ट्रान्सजेन्डर समुदायको जनसंख्या बढ्दो क्रममा रहे पनि अधिकारकर्मीले वर्षौँदेखि परम्परागत विश्वासका विरुद्ध लडिरहेका थिए। ‘हामी इतिहास बनाउन पाउँदा निकै गर्व गर्छौँ,’ समलिंगी विवाहसम्बन्धी संसदीय समितिका सदस्य प्लाइफाह क्योका सोडलादले भने।

अल जजिराको रिपोर्टअनुसार विधेयक पारित भएपछि राष्ट्रिय सभामा केहीले यो समुदायको समर्थनमा इन्द्रेणी झण्डा फहराउँदै गरेको देखिएका थिए। मार्चमा ४१५ संसदहरूमध्ये केवल १० ले विधेयकविरुद्ध मतदान गरेपछि यो विधेयक तल्लो सदनबाट सर्वसम्मत पारित भएको थियो।

सुझावित समाचार