बागमती प्रदेशमा भोलिदेखि मनसुन सक्रिय हुने

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू-भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ। 

महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको बिहारआसपास रहेको न्यूनचापीय  क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको बताए। 

‘कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ, नेपालमा पूर्वी भागमा मनसुन सुरु भएको एक सातापछि पश्चिम भागमा भित्रिसक्नुपर्ने हो, तर भारतको बिहारआसपास रहेको न्यूनचापीय  क्षेत्रको आंशिक प्रभावलगायतका कारण पश्चिममा मनसुन सक्रिय हुन समय लागेको हो,’ उनले भने। 

महाशाखाका अनुसार आज कोशी प्रदेशका केही स्थानमा साधारणतया बदली, मधेश प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा  छ। 

कोशी प्रदेशको थोरै स्थान तथा बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। रासस

सुझावित समाचार