सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले चक्रपथको कलंकी–धोबीखोला निर्माणको विषयमा चिनियाँ राजदूत चेन सोङसँग छलफल गरेका छन्।
दुई पक्षबीच भएको सम्झौताअनुसार नै चिनियाँ पक्षले काम गर्नुपर्नेमा आफूले राजदूत सोङको ध्यानाकर्षण गराएको पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
भेटका क्रममा सोङले नेपाल सरकारले आफ्नो काम सकेको जानकारी दिएलगत्तै चिनियाँ पक्षले आफ्नो काम सुरु गर्ने बताएकाे पाैडेलले बताएका छन्। उनले बसुन्धरा–धोबीखोला खण्ड दोस्रो खण्डमा नपर्नेसमेत पौडेललाई जानकारी दिए।
सन् २०१८ मा निर्माण सम्झौता भएको कलंकी–बसुन्धरा खण्डको काम शून्यप्राय रहेको भन्दै पौडेलले भने, ‘रुख काटेर अलपत्र छोडिएका छन्, धुवाँधुलोको सास्ती छ। वर्षायाममा ढल सडकबाटै बग्ने र थप समस्या निम्तिने अवस्था छ। यसका कारण सो क्षेत्रमा बसोवास गर्ने तथा हिँडडुल गर्ने आममानिसको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ, दैनिक जीवनयापनमा असुविधा भएको छ।’
चिनियाँ पक्षले काम गर्न नसक्ने हो भने नेपाल आफैँले बनाउनुपर्ने भन्दै पौडेलले यसअघि गत बुधबार प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्।