श्री डिस्टिलरी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)का लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। श्री डिस्टिलरीको नाै लाख ६० हजार कित्ता आइपिओ जारी गर्ने तयारी गरिरहेको छ।
कम्पनीले कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपिओका लागि छुट्याएको छ। आइपिओ निष्कासनका लागि २०८१ साल जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ।
सम्झौतामा श्री डिस्टिलरीका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै कम्पनीले आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन पेस गर्ने बताइएको छ। प्रक्रिया पूरा गरी चाँडै नै आइपिओ जारी गर्ने कम्पनीले जनाएको छ।
श्री डिस्टिलरी लिमिटेड नेपालको प्रतिष्ठित र सबैभन्दा पुरानो रक्सी उत्पादकमध्ये एक हो। सन् १९८५ मा स्थापना भइको श्री डिस्टिलरीको सुरुवाती मुख्य ब्रान्डहरूमा किंग्स प्राइड ह्विस्की, माउन्ट एभरेस्ट ह्विस्की, बन्ड ब्ल्याक लेबल, ओएसिस एक्स्ट्रा ड्राय, श्री स्पेसल नम्बर वान, दुधिया स्पेसल, बुलेट, श्री दुधिया, सगुनलगायत थिए।
कम्पनीका हालका ब्रान्डहरूमा प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, सगुन एक्स्ट्रा, जोस, स्पेसल नम्बर वान रहेका छन्। यस्तै कम्पनीले चाँडै नै ओएसिस, अल्फा ब्लु र बोन्ड ब्ल्याक लेबल गरी तीन नयाँ ब्रान्डलाई बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ।
यस कम्पनीसँग स्प्रिट लाइसेन्ससमेत रहेको छ। आइपिओ निष्कासनपश्चात् उच्च गुणस्तरको स्प्रिट उत्पादनमा पनि गर्ने कम्पनीले बताएको छ।