फर्निचर एक्स्पोमा आइएनआई सिनेमाको सहकार्य

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

दसौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको आधिकारिक सिनेमा पार्टनरमा आइएनआई सिनेमाले सहकार्य गर्ने भएको छ । हलका दर्शक तथा एक्स्पोका अवलोकनकर्तालाई सहुलियत दिने उद्देश्यका साथ बिहीबार दुई संस्थाबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

बिहीबार एक कार्यक्रमबीच आइएनआई सिनेमाका प्रबन्ध निर्देशक भीमसेन कँडेल र एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार आगामी २–५ असोजसम्म भृकुटीमण्डपमा आयोजना हुने दसौँ संस्करणको फर्निचर एक्स्पोका अवलोकनकर्ताले दैनिक रूपमा गोलाप्रथाबाट आइएनआई सिनेमाको टिकट पाउनेछन् । प्रचारप्रसारका साथै सेवाग्राहीलाई चाडपर्वको समयमा सिनेमा हेर्दा सहुलियत होस् भन्नका लागि यस्तो सम्झौता गरिएको आइएनआई सिनेमाका सञ्चालक गृहेन्द्र मुनकर्मीले बताए । ‘आत्मनिर्भरतामा एक कदम अगाडि’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)ले सो एक्स्पो आयोजना गर्दै छ । 

एक्स्पोका संयोजक सम्येकमान सिंहका अनुसार पहिलोपटक एक्स्पोस्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुला बजार पनि सञ्चालन हुनेछ । २० वटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा अवलोकनकर्ताले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सक्नेछन् । एक्स्पोको स्टल बुकिङ गत महिनादेखि नै खुला भइसकेको छ ।

एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिने बताइएको छ । एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न सहज मार्ग निर्देशन गर्नेछ भने ग्राहकलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन उपलब्ध गराउन भूमिका खेल्ने विश्वास आयोजकको छ । 

सुझावित समाचार