जारी यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० अन्तर्गत बास्केटबल प्रतियोगिता सञ्चालनका लागि केन्द्रबाट जिम्मा लिएर आएका संयोजक मापसे गरेर मैदान छिरेपछि विवाद भएको छ।
बास्केटबल संघ केन्द्रका कार्यालय सचिव रमेश खड्कालाई प्रतियोगिता सञ्चालनका लागि केन्द्रले सम्पूर्ण जिम्मा दिएर पोखरा पठाएको थियो।
तिनै संयोजक खड्का मापसे गरेर मैदान छिरेपछि बुधबार बिहानदेखि खेल सञ्चालनलाई लिएर विवाद भएको थियो। पोखरा रंगशालास्थित बास्केटबल संघ गण्डकी प्रदेशको कोर्टमा बिहान ७ बजेबाट सुरु हुने भनेको खेल उनकै कारण करिब साढे तीन घण्टापछि सुरु भएको थियो।
खड्काले मापसे गरेर आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै आएका प्रहरीले उनले चेक जाँच गरेका थिए। जाँचपछि उनले मापसे गरेकाे देखिएपछि उनलाई प्रतियोगितास्थलबाट बाहिर निकालिएको थियो। खड्का उभिएको दुई तीन हात परसम्म मादक पदार्थको बास्नासमेत आएको थियो।
बिहान ७ बजेदेखि प्रतियोगिता सुरु हुने भने पनि खड्काले दुई कोर्ट चाहिने, कोर्टमा रहेको गण्डकी प्रदेश बास्केटबल संघको नाम लेखिएको बोर्ड हटाउनुपर्नेलगायतका कुरा निकाल्दै खड्काले विवाद सुरु गरेका थिए। विवादका कारण खेल खेल्न आएका खेलाडी मैदानमा अलपत्र परेका थिए। बास्केटबलमा सात प्रदेशका खेलाडी सहभागी छन्।
संघ केन्द्रले प्रदेश संघसँग समन्वय नगरी खेल सञ्चालनका लागि संघका कर्मचारी पाठाएपछि पनि विवाद सुरु भएको थियो। मैदानमा त्यत्रो विवाद हुँदासम्म संघ केन्द्रका केही पनि पदाधिकारी र सदस्य उपस्थित भएका थिएनन्। संघ केन्द्र र प्रदेशको विवादमा मैदानमा छताछुल्लसमेत भएको थियो।
प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले मापसे गरेर आउनु गलत भएको भन्दै जसले मापसे गरेर आउँछ उसलाई नियमअनुसार कारबाही हुने बताए।
केन्द्रले समन्वय गरेन
प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्षसमेत रहेका संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङले खेल सञ्चालनका लागि केन्द्रले संघ गण्डकीसँग कुनै सल्लाह नगरी एकलाैटी गरेको बताए। बिहानैदेखि खेल सञ्चालनका लागि आफूहरूले समन्वय गर्न खोज्दा मैदानमा आफूहरूलाई छिर्न नदिनेजस्तो व्यवहार गरिएको उनको आरोप छ।
मापसे गर्नेको बचाउमा
प्रतियोगिता सञ्चालनको सम्पूर्ण जिम्मा दिएर राष्ट्रिय खेलकुद परिषद्ले परिषदअन्तर्गतको प्रतियोगिता विभागका विभागीय प्रमुख मीनकुमार शर्मालाई खटाएको छ।
उनी प्रतियोगिताका सचिवसमेत हुन्। मापसे गरेका खड्काको बचाउ गर्दै उनी हिजो साँझ खाएको होला आज हाेइन भनी उल्टो प्रतिवादमा उत्रिएका थिए।
कारबाहीका सम्बन्धमा उनले खड्कालाई मैदानबाट निकाल्नु नै कारबाही भएको बताए। खड्कालाई थप कारबाही के हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले केही बताउन चाहेनन् र उनकै बचाउमा लागेका थिए।