गण्डकीमा मन्त्रिपरिषद् विस्तार, सात वर्षमा मनाङे छैटौँपटक मन्त्री

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै दुई मन्त्री थप गरेका छन् । सोमबार विश्वासको मत लिएका उनले मंगलबार फ्लोर क्रस गरेका सांसदलाई मन्त्री नियुक्त गरेका हुन् । 

माओवादीको चुनाव चिह्न लिएर गोरखाबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी र मनाङ १ (२) बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्त भएका छन् । थप दुई मन्त्रीसँगै गण्डकीमा मन्त्रिपरिषद् संख्या पाँच पुगेको छ । मनाङे छैटौँ र देवकोटा पहिलोपटक मन्त्री भएका हुन् । मनाङेको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा उनी तीन र दोस्रो कार्यकालमा तीनपटक मन्त्री भएका हुन् ।

मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने क्रममा आफ्नो पद जोखिममा राखेर फ्लोर क्रस गर्दै देवकोटाले मत दिएपछि सरकार जोगिएको थियो । नियुक्त दुई मन्त्रीले बुधबार शपथसँगै कार्यभार सम्हालेका छन् । गत १६ जेठमा संविधानको धारा १६८ को उपधारा (३) अनुसार पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सोही दिन उनले विन्दुकुमार थापालाई सामाजिक विकास तथा स्वास्थ्यसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी गरी दुई मन्त्रालको जिम्मा दिएका थिए । डा. टकराज गुरुङलाई आर्थिक मामिलामन्त्रीको जिम्मेवारी तोकेका थिए । 

See More On

सुझावित समाचार