अध्यक्षमा पीताम्बर भुसाल, उपाध्यक्षमा शम्भु पोखरेल र सचिवमा विधान रायमाझी आउने चर्चा
एमाले अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशन आजबाट सन्धिखर्कमा सुरु हुँदै छ। शनिबार र आइतबार गरी दुई दिन चल्ने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। अधिवेशनका लागि प्रतिनिधि छनोटको कार्य सम्पन्न भएको छ। सबै प्रतिनिधि यतिवेला अधिवेशनस्थल सन्धिखर्क आइपुगेका छन्।
अधिवेशनमा भाग लिन ५६२ जना प्रतिनिधि छनोट भएको जिल्ला अध्यक्ष पीताम्बर भुसालले जानकारी दिए। अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ। जसमा एक महिलासहित पाँचजना पदाधिकारी रहनेछन्।
अध्यक्षमा पुन: पीताम्बर भुसाल नै दोहोरिने सम्भावना
एमाले अर्घाखाँचीको अध्यक्षमा पुन: पीताम्बर भुसाल नै दोहोरिने सम्भावना बलियो बन्दै गएको छ। यसैगरी, युवा नेता प्रेमनारायण गैरेले पनि अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ। उपाध्यक्षमा शम्भु पोखरेल, ईश्वरा पोखरेल र ओपी पाण्डेले उम्मेदवारी दिने तयारी गरेका छन्।
यस्तै, सचिवमा विधान रायमाझी र श्रीकृष्ण भुसाल, उपसचिवमा लीला विक र नारायण अर्याल, महिला उपसचिवमा गीता भाट र सुस्मा श्रेष्ठले उम्मेदवारी दिने तयारी गर्दै छन्।
सकेसम्म सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन गर्ने र सर्वसम्मत चयन हुन नसके निर्वाचन हुने निर्वाचन आयोजक कमिटीले जनाएको छ। 'अहिलेसम्म सर्वसम्मतको वातावरण बनेको छ,' प्रमुख निर्वाचन अधिकृत केबी भुसालले भने, 'यदि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन नभएमा आइतबार २ बजेपछि मतदान हुनेछ।'