सफा हिमाल अभियानमा सहभागी सैनिक टोलीले सगरमाथा हिमालको बाल्कोनी (८,४३० मिटर) र ल्होत्से क्याम्प ४ (७,९०० मिटर) मा फेला पारेको दुईवटा शव बुधबार त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा बुझाएको छ ।
नेपाली सेनाको अगुवाइमा गत २९ चैतबाट सफा हिमाल अभियान सञ्चालन भइरहेको छ । यस वर्षको सफा हिमाल अभियानअन्तर्गत हालसम्म सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ हजार केजी फोहोर, चारवटा मानव शव तथा केही मानव अस्थिपञ्जर संकलन तथा व्यवस्थापन गरिएको सेनाले जनाएको छ । अभियान विश्व वातावरण दिवस (५ जुन)मा समापन हुनेछ ।
‘अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालमा थुप्रिएको फोहोर हटाउन सहयोग पुग्ने विश्वास लिइएको छ,’ सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले भने ।