काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मंगलबार २८.५ डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३.३ डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । 

हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको बिहारआसपासको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको  छ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया  बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । 

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा  मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका केही  स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले  सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सुझावित समाचार