गैँडाको एकसिंगे खागसहित नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जको टोलीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई आज चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको विशेष टोली र श्री नयाँ गोरख गणको संयुक्त टोलीले संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग खरिद तथा बिक्री भइरहेको विशेष सूचनाको आधारमा खागसहित ६ जनालाई पक्राउ गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जले आज पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार पक्राउ पर्नेमा नवलपुरकाे कावासोती– १५ निवासी ५० वर्षीय छविलाल परियार, कावासोती– १५ निवासी ३६ वर्षीय प्रकाश घिमिरे, कावासोती– १६ निवासी ३८ वर्षीय लेखनाथ सुनार, कावासोती– १६ निवासी २९ वर्षीय क्रान्ति खड्का, बुलिङटार गाउँपालिका– ४ निवासी ३५ वर्षीय खिमबहादुर बराल र बझाङ जिल्लाका छविस पाथीभरा गाउँपालिका– १ निवासी २७ वर्षीय प्रकाशराज जोशी रहेका छन् ।
उनीहरूलाई चैतको अन्तिम साता पक्राउ गरिएको हो । संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग खरिद तथा बिक्री गर्न ६ जना व्यक्ति मिली शंकास्पद गतिविधि गरिरहेको देखेर निजहरूलाई गोप्य रूपमा निगरानी गर्दै जाँदा चितवन भरतपुर महानगरपालिका– ६ को क्षेत्रमा रितपूर्वक सोधपुछ तथा चेकजाँच गर्ने क्रममा कावासोतीका क्रान्ति खड्काको साथबाट रातो रङको प्लास्टिकको झोलामा संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग (आखेटोपहार) एक थानसमेत बरामद गरेको निकुञ्जले जनाएको छ ।
उनका साथबाट ८.५ इन्च उचाइ, २.४ इच्च मोटाइ, ६० ग्राम तौल भएको खाग फेला परेको प्रमुख संरक्षक अधिकृत डिलबहादुर पुर्जा पुनले बताए । क्रान्तिसँगै खाग खरिद बिक्रीमा संलग्न रहेको बयानका आधारमा थप पाँचजनालाई पनि पक्राउ परेको उनले बताए ।
उक्त खाग ०७२ साल चैततिर चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा एकसिंगे गैँडा मरी सडिगलेको अवस्थामा रहेको गैँडाबाट चोरी भएको खुल्न आएको प्रमुख संरक्षक अधिकृत डिलबहादुर पुर्जा पुनले बताए ।
उक्त मृत गैँडाको खाग कावासोती– १५ निवासी छविलाल थापा र भैरव थापा घाँस दाउरा गर्न भनी गएको वेला चोरी गरेका थिए । भैरव थापाको भने निधन भइसकेको छ । उक्त गैँडाकाे खाग तस्करमा संलग्न एकजना अझै फरार रहेको उनले बताए ।
पक्राउ परेका ६ जना र फरार रहेका एकजना गरी सातजनालाई संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग (आखेटोपहार) खरिद तथा बिक्री मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन), ऐन २०२९ को दफा ५(१) को (क) र दफा २६ (१)को विरुद्धको कसुर गरेकाले निजहरूलाई सोही ऐनको दफा २६ (१)बमोजिम सजाय माग गरी बरामद भएको समानहरू सोही ऐनको दफा २८ बमोजिम जफत गरी पाउन माग दाबी लिई जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।