घरेलु मैदानमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेसँगै सन् २०२३–२४ को युरोपेली फुटबल लिग समाप्त भएको छ । आइतबार राति नै युरोपको पाँच राष्ट्रका लिग च्याम्पियनको छिनोफानो भयो । इंग्लिस प्रिमियर लिगबाहेक स्पेन, जर्मनी, इटाली र फ्रान्समा सञ्चालन भएका लिगको विजेता चयन भइसकेको थियो ।
प्रिमियर लिगको तुलनामा स्पेनिसा ला लिगा, जर्मनको बुन्डेस लिगा, इटालीको सिरी ए र फ्रान्सको फ्रेन्च लिगका विजेताले सहज उपाधि उचाले । लन्डनमा आर्सनल र सिटीबीच अन्तिम मिनेटसम्म पनि भिडन्त चलेको थियो । खेलको ९० मिनेटसम्म पनि आर्सनलले च्याम्पियन हुने आशा जीवितै राखेको थियो । तर, दुई अंकले पछि परेपछि आर्सनल उपाधिविमुख भयो । ला लिगामा रियल म्याड्रिडले दुई वर्षपछि जित्यो । बुन्डेस लिगामा बायर लेभरकुसन अपराजित रही पहिलोपटक च्याम्पियन बन्यो । इन्टर मिलान पुनः सिरी ए उपाधि हात पार्यो । पिएसजीले फ्रेन्च लिगमा एक पक्षीय नतिजा निकाल्यो ।
ला लिगा : रियल म्याड्रिड
सर्वाधिक गोलकर्ता – एलेक्जेन्डर सर्लाेथ
कार्लोस एन्सेलोटीले रियललाई दुई वर्षपछि लिग च्याम्पियन बनाए । योपटक कार्लोसले युवा खेलाडीमाथि विश्वास राखेका थिए । युवा खेलाडीले पनि प्रशिक्षकको विश्वास तोड्न दिएनन् । यसैकारण नै रियलले बार्सिलोनाको आधिपत्यलाई तोड्दै तीन खेलअघि नै ट्रफी उचाल्यो । साबिक विजेता बार्सिलोना दोस्रो स्थानमा रह्यो । रियलले ३७ खेलबाट २९ जितसहित ९४ अंक जोडेको छ । दोस्रो स्थानको बार्सिलोनाको ८२ अंक छ । स्पेनिस लिगामा जिरोनाले कुनै समय उपाधि जित्ने सम्भावना कायम राखेको थियो । जिरोनाले आफ्नो उत्कृष्ट लय अन्तिम खेलसम्म राख्न सकेन । यस सिजन ला लिगमा भिल्ला रियलका एलेक्जेन्डर सर्लाेटले सर्वाधिक २३ गोल गरेका छन् । रियलले कीर्तिमानी ३६ पटक र बार्सिलोनाले २७ चोटी उपाधि हात पारेको छ । यसपटक काडिज, ग्रेनडा र अल्मेरिया रेलिगेसनमा परेका छन् ।
बुन्डेस लिगा : बायर लेभरकुसन
सर्वाधिक गोलकर्ता – ह्यारी केन
यसपटक बुन्डेस लिगामा चमत्कारी नतिजा आयो । बार्यन म्युनिखले ट्रफीमाथि एक दशकदेखि राखेको एकाधिकार बायर लेभरकुसनले भंग गर्यो । लेभरकुसनले अपराजित रही पहिलोपटक उपाधि जित्यो । जाभी अलोन्सोको प्रशिक्षणमा रहेको लेभरकुसनले सिजनभरि नै पुनरागमन जित निकाल्यो । च्याम्पियन हुन लेभरकुसनले ३४ खेलमा २८ जित र ६ बराबरसहित ९० अंक जोड्यो । दोस्रो स्थानको स्टुगार्डले ७३ र साबिक विजेता म्युनिख ७२ अंकका साथ तेस्रो स्थानमा सीमित भयो । इंग्ल्यान्डका ह्यारी केन ३६ गोलसहित सर्वाधिक गोलकर्ता बने । लेभरकुसनका एलेक्स ग्रिमाल्डोले सर्वाधिक १३ असिस्ट गरे । च्याम्पियन क्लबका गोलरक्षक लुकास हाडेकीले १५ खेलमा ‘क्लिन सिट’ राखेका छन् । म्युनिखले सर्वाधिक ३३ पटक उपाधि उचालेको छ । म्युनिखले पछिल्ला १२ मध्ये ११ पटक उपाधि जित्दै नयाँ रेकर्ड राखेको थियो ।
इंग्लिस प्रिमियर : म्यानचेस्टर सिटी
सर्वाधिक गोलकर्ता– एर्लिङ हाल्यान्ड
वेस्ट हम युनाइटेडलाई ३–१ ले हराउँदै म्यानचेस्टर सिटीले लगातार चौथोपटक इंग्लिस प्रिमियर लिग उपाधि उचाल्यो । प्रिमियर लिगमा लगातार चारपटक उपाधि जित्ने सिटी मात्र हो । पछिल्लो सात वर्षमा सिटीले ६ पटक उपाधि उचाल्यो । यसबीच एकपटक मात्र लिभरपुलले ट्रफी जित्यो । पेप ग्वार्डिओला प्रशिक्षकका रूपमा सिटी भित्रिएपछि युएईका मालिक दंग छन् । पेपले सिटीलाई लिग च्याम्पियन मात्र बनाएनन्, उनले युरोपियन च्याम्पियन्स लिगको उपाधिसमेत दिलाए । सिटीले ३८ खेलमा २८ जितसहित ९१ अंक जोड्यो । दोस्रो स्थानमा रहेको आर्सनलले ८९ अंक बटुल्यो । सिटीका एर्लिङ हाल्यान्ड २७ गोलसहित सर्वाधिक गोलकर्ता बने । आर्सनलका गोलरक्षक डेभिड राया सर्वाधिक १६ क्लिन सिट राख्न सफल भए । म्यानचेस्टर युनाइटेडले कीर्तिमानी रूपमा २० पटक र लिभरपुलले १९ पटक उपाधि जितेको छ ।
फ्रेन्च लिग वान : पिएसजी
सर्वाधिक गोलकर्ता– केलियन एम्बाप्पे
पिएसजीले फ्रेन्च लिग वानको उपाधि रक्षा गर्दा सर्वाधिक ७६ अंक बटुल्यो । पिएसजीले पछिल्लो १२ वर्षमा १० पटक उपाधि उचालेको छ । फ्रेन्च लिग सन् १९८५÷०८६ देखि सुरु भएको हो । यस सिजन पिएसजीले एक छत्रराज ग¥यो । गत सिजनमा पिएसजीबाट विश्व चर्चित खेलाडीद्वय लियोनल मेसी र नेमारले क्लब छाडेका थिए । यस सिजनपछि एम्बाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा जाने तयारीमा छन् । पिएसजीले यससिजन ३४ खेल खेल्दा २२ जित निकाल्यो । दोस्रो स्थानको मोनाकोको ६७ अंक रह्यो । एम्बाप्पे २७ गोलसहित सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहे । निसका मार्सिन बुल्काले सर्वाधिक १७ ‘क्लिन सिट’ राखेका छन् ।
सिरिए : इन्टर मिलान
सर्वाधिक गोलकर्ता – लौटारो मार्टिनेज
यसपटक इटालियन सिरी ‘ए’को उपाधि इन्टर मिलानले जितेको छ । सिजनमा तेस्रो स्थानमा रही लिग सुरु गरेको इन्टर मिलान अन्ततः २०औँपटक च्याम्पियन भयो । साविक विजेता नेपोली दशौँ स्थानमा सीमित भएको छ । इन्टर मिलान १६ पटक उपविजेता भइसकेको छ । सिरी ए मा युभेन्ट्सले सर्वाधिक ३६ पटक उपाधि उचालेको छ । लिगको विजेता छिनोफनो भए पनि अझै एक खेल खेल्न बाँकी छ । ३७ खेलमा २९ जित र ६ बराबरीका साथ नेपोलीले सर्वाधिक ९३ अंक जोडेको छ । नेपोलीले ८७ गोल विपक्षी पोस्टमा गर्दा २० गोल व्यहोरेको छ । दोस्रो स्थानमा रहेको एसी मिलानले ७३ अंक बटुलेको छ । इन्टरले उपाधि जित्दा कप्तान लौटारो मार्टिनेजले सर्वाधिक २४ गोल गरे । ९ असिस्ट गर्ने खेलाडीमा रोमाका पाउलो डिबला र मिलानका रापेल लिआओ छन् । इन्टर मिलान गोलरक्षक यान समर १९ ‘क्लिन सिट’सहित शीर्ष स्थानमा छन् ।