प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको समसामयिक राजनीतिक विषयमा छलफल गर्न बसेको बैठक जारी छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल भइरहेको संसदीय दलको कार्यालयले जनाएको छ । साथै प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरूले वेल घेराउ र नाराबाजी गरिरहेका वेला सभामुखले नियमित कार्यसूचीमा प्रवेश गरी उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो ।
कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । छानबिन समिति गठन नभएको भन्दै उसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।