सिराहाको लहान नगरपालिका– १७ हरिपुर टोलमा सोमबार राति डकैत समूहले लुटपाट गरेर हिँड्ने वेलामा फालेको बमको छर्रा लागेर गम्भीर दुईजना घाइते भएका छन् । घाइते भएका २५ वर्षीय निरञ्जन यादव र सप्तरीको सुरुंगा नगरपालिका– २ का योगेन्द्र यादवलाई थप उपचारका लागि मंगलबार विराटनगरस्थित नोबेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
लहान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार सामान्य घाइते भएका रामबाबु यादव, बिरछ ठाकुर, जोगिन्द्र यादव र मणि यादवको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । लुटेरा समूहले स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरञ्जन यादवको घरमा नगद, गरहना लुटेर लगेका छन् ।
लहान नगरपालिका– १७ का वडाध्यक्ष प्रथमलाल चौधरीले राति ११ बजेर ३५ मिनेटमा गाउँमा डकैती भइरहेको खबर पाएलगत्तै आफूले प्रहरीलाई खबर गरेको र १० मिनेटमै प्रहरी पुगेपछि डकैत समूह बम पड्काउँदै भागेको जानकारी दिए । ‘लुटेरा समूहले भाग्ने वेलामा फालेको बम खुट्टैनजिक पड्किएपछि पैतालामा लागेको छर्राले निरञ्जन गम्भीर घाइते भएका हुन्,’ उनले भने, ‘अन्यत्रबाट पाहुना आएका योगेन्द्र घरको छतमा सुतिरहेका वेला छतमै फालिएको बम पड्किँदा घाइते भए ।’