पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ३ प्रश्न

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

भारतको चुनावलाई कसरी हेर्नुभएको छ ?
यसपटकको चुनावले राष्ट्रियतालाई हिन्दुत्वद्वारा परिभाषित गर्दै भारतीय राजनीतिलाई नयाँ मोड दिने कि नदिने भन्ने ठहर गर्नेछ । चार महिनाअघि अयोध्यामा राम मन्दिर प्राणप्रतिष्ठा समारोहमा प्रधानमन्त्रीले नयाँ मन्त्रवाचन गरेका थिए– ‘देवबाट देश, रामबाट राष्ट्र’ । सोही समारोहमा भाजपाको अभिभावक राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतले भनेका थिए— राममन्दिरको प्राणप्रतिष्ठा भारतवर्षको पुनर्निर्माण अभियानको शुभारम्भ हो ।’ यो चिन्तन र लक्ष्य भारतीय मतदाताको सामुहिक विवेकबाट अनुमोदित हुन्छ वा हुँदैन भन्ने प्रश्न छ । यसमा प्रयोग भएका दुई मूल शब्दहरू ‘हिन्दुत्व’ र ‘भारतवर्ष’लाई अथ्र्याएर मूल्यांकन गर्ने जाँगर नेपालले देखाउनुपर्छ ।  

नेपालका लागि चुनावपछिको भारत कस्तो हुनेछ ?
भाजपाको संकल्पपत्र र कंग्रेसको घोषणापत्रमा लेखिएको परराष्ट्र मामिलाको लक्ष्य विचारणीय छ । भाजपाले ‘सभ्यताको मूल भारतको हैसियत पुनस्र्थापना गर्ने’ लक्ष्य बनाएको छ । कंग्रेसले ‘सत्तामा आएपछि नेपाल र भुटानसँगको विशेष सम्बन्धको प्रधानता पुनस्र्थापित गर्ने’ अठोट गरेको छ । यसपटकको विजयले मोदीको राष्ट्रिय र अन्तर्राष्ट्रिय चिन्तनको रूपान्तरणका लागि आवश्यक भूराजनीतिक व्याकरणको अभ्यास सुरु गर्दै हिन्दुत्वको ‘स्ट्राटिजिक डक्ट्रिन’ व्यवहारमा परिभाषित हुन थाल्नेछ । कंग्रेसले लामो शासनकालमा अभ्यास गरेको विशेष सम्बन्धको नीति र व्यवहारले नेपालीको मनमा पारेको घाउ र भारतप्रति रोपेको आशंकालाई निरन्तरता दिने योजना बताएको छ ।  

यसमा तपाईंको सुझाव के छ ? 
नेपालको छिमेक नीति र सम्बन्ध सञ्चालन शैलीमा सुधारको खाँचो छ । परराष्ट्र मामिलामा सरकारलाई उछिनेर पार्टीका नेताले चालक सिट कब्जा गर्ने प्रवृत्ति अनिष्टकारी छ । नेपालमा प्रमुख विदेशी शक्तिको रुचि र सक्रियता भिडन्तउन्मुख भएको अवस्थामा छिमेकीसँगको सम्बन्धलाई सुधारेर स्थायित्व दिनु देशको दीर्घकालीन हितमा हुनेछ । भारत र चीनको सामरिक परिधि आपसमा जुध्ने अवस्था बन्न थालेकाले पनि रहर पुर्याउन राजनीतिक र कूटनीतिक नेतृत्व सुम्पिने चलन नेपालका लागि घातक छ ।  

सुझावित समाचार