एपिएफ र सुदूरपश्चिम लगातार सफल

प्रतियोगितामा लगातार दुई जित निकाल्दै एपिएफ र सुदूरपश्चिमले बलियो दाबेदारी प्रस्तुत गरेका छन्

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

साबिक विजेता विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी– २० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा करुणा भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिएपछि एपिएफले बागमती प्रदेशलाई ८ विकेटले हरायो । बागमती भने लगातार दोस्रो खेलमा हार व्यहोर्न पुग्यो । करुणा चम्किएपछि पहिले ब्याटिङ गरेको बागमतीले ६ विकेट गुमाउँदै ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा एपिएफले ११ ओभरमा मात्र दुई विकेट गुमाएर जित निकालेको हो । 

जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित बागमती अंकविहीन छ । पहिलो खेलमा एपिएफले कोशी प्रदेशलाई २४ रनले पराजित गरेको हो । बागमती आयोजक ललितपुर मेयर ११ सँग सात विकेटले पराजित भएको थियो । एपिएफका लागि ममता चौधरीले अविजित ३५ रन बनाइन् । इन्दु बर्माले १७, कप्तान सीता रानामगरले ११ र राजमती ऐरीले अविजित १० रन जोडे । बागमतीकी खुसी डंगोलले एक विकेट लिइन् ।

टस हारेर ब्याटिङ गरेको बागमतीका लागि हेनिशा गुरुङले सर्वाधिक ३१ र खुसीले अविजित १४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपिएफकी करुणाले चार ओभरमा १० रन खर्चिदै चार विकेट लिइन् । कप्तान सीताको नाममा दुई विकेट रह्यो । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

सम्झनाको अर्धशतक 
सम्झना खड्काको अर्धशतक प्रेरित सुदूरपश्चिमले लगातार दोस्रो जित निकाल्ने क्रममा कोशी प्रदेशलाई १९ रनले हराएको छ । पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

प्रत्युत्तरमा कोशीले ७ विकेट गुमाउँदा मात्र ९३ रन बनाएको हो । जितसँगै सुदूरपश्चिमले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित कोशी अंकविहीन छ । पहिलो खेलमा सुदूरपश्चिमले ललितपुर मेयर– ११ लाई १६ रनले पराजित गर्दा कोशी एपिएफसँग २४ रनको हार पराजित भएको हो । 

कोशीकी काजल श्रेष्ठले ३३ र कप्तान अप्सरी बेगमले २३ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका लागि सम्झनाले ५१ बलमा चार चौकासहित सर्वाधिक ५४ रन बनाइन् । ऋतु कनोजियाले २३ र विन्दु रावलले १४ रन बनाएका हुन् । कोशीका लागि शवनम राई, हिरनमायी रोय र संगीता राईले समान दुई विकेट लिए ।

सुझावित समाचार