पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको दक्षिण एसियाली छनोटमा पहिलो दिन नेपालका चारै खेलाडीले जित निकालेका छन् । सोमबारबाट सुरु भएको प्रतियोगितामा नेपालका खेलाडीले कुल सात खेल खेल्दा ६ जित निकालेका छन् । पुरुषतर्फ स्यान्टु श्रेष्ठ र महिलातर्फ नविता श्रेष्ठले समान दुई खेल जितेका हुन् । एक मात्र खेल खेलेकी इभाना थापाले सानदार प्रदर्शन गरिन् । यता, उपाधि दाबेदार मानिएका संयोग कपालीले भने एक खेल जित्दा अर्काे खेलमा पराजित भए ।
महिलातर्फ नविताले पहिलो खेलमा पाकिस्तानकी खेलाडीलाई ४–१ ले हराइन् । दोस्रो खेलमा बंगलादेशका सोम्यालाई ४–३ ले हराएकी हुन् । इभानाले पहिलो खेलमा जित निकाल्ने क्रममा श्रीलंकाकी मधुरांगीलाई ४–१ को सेटमा हराइन् । पुरुष एकलको समूह चरणको पहिलो खेलमा स्यान्टुले माल्दिभ्सका अहमद अख्यारलाई ४–१ ले पराजित गरेका हुन् ।
दोस्रो खेलमा बंगलादेका रामहिमलियन बाबमलाई ४–२ ले पराजित गरे । पुरुषतर्फको अर्काे प्रतिस्पर्धामा संयोग माल्दिभ्सका अहमद मुसासँग ४–३ ले पराजित भए । दोस्रो खेलमा बंगलादेशका रिडोलाई ४–१ ले पराजित गर्दै सेमिफाइनल सम्भावना कायम राखेका हुन् । लिग चरणका बाँकी खेल मंगलबार हुनेछन् । नेपाली चारै खेलाडीको सेमिफाइनल सम्भावना बलियो रहेको छ ।