ऐँसेलुखर्क भलिबल प्रतियोगिताको उपाधि आमचोक र दमकलाई

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

खेलकुद विकास समिति ऐँसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐँसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला/पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको महिलातर्फ आमचोक गाउँपालिका भोजपुर र पुरुषतर्फ दमक नगरपालिका झापाले उपाधिमाथि कब्जा जमाएका छन् । आइतबार साँझ सम्पन्न फाइनल खेलमा केपिसगढी गाउँपालिका बाक्सिला खोटाङलाई हराउँदै आमचोक तथा षडानन्द नगरपालिका भोजपुरलाई हराउँदै दमकले भलिबलको उपाधिमाथि कब्जा जमाएका हुन्। 

बेस्ट टप थ्रीअन्तर्गत आयोजना गरिएको महिलातर्फको फाइनल खेलमा केपिसगढी गाउँपालिका बाक्सिलालाई  आमचोक गाउँपालिका भोजपुरले २७–२९ र २२–२५ मा हराएको आयोजक खेलकुद विकास समिति ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष रजिन राईले जानकारी दिए। पुरुषतर्फको प्रतियोगितामा षडानन्द नगरपालिका भोजपुरलाई दमक नगरपालिका झापाले २०–२५ र १९–२५ मा हराएको जनाइएको छ । 

महिलातर्फको प्रतियोगितामा केपिसगढी गाउँपालिका बाक्सिला दोस्रो, आयोजक ऐँसेलुखर्क गाउँपालिका तेस्रो र सोही गाउँपालिकाको वडा नम्बर ३ ऐँसेलुखर्क सान्त्वना भएका छन् । यस्तै, पुरुषतर्फ षडानन्द नगरपालिका भोजपुर दोस्रो, सोताङ गाउँपालिका सोलुखुम्बु तेस्रो र सिद्धिचरण नगरपालिका ओखलढुंगा सान्त्वना भएका छन् । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना महिला/पुरुष दुवैलाई समान रूपमा क्रमशः नगद दुई लाख, एक लाख, ५० हजार र २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। विद्यागत पुरस्कारतर्फ महिला/पुरुष दुवै समूहका एक–एकजना उत्कृष्ट खेलाडीलाई नगद पाँच/पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

महिलातर्फ आमचोककी आरुषा तामाङ र पुरुषतर्फ झापाका रोमन बस्नेत उत्कृष्ट खेलाडी घोषित भएको आयोजकले जनाएको छ। यस्तै, महिलातर्फ बेस्ट स्पाइकर रोशिका बराइली आमचोक, बेस्ट सेटर शिखा कोयुराई केपिलासगढी, बेस्ट ब्लकर सुनिता खत्री केपिलासगढी, बेस्ट डिफेन्डर अस्मिता राई ऐँसेलुखर्क, बेस्ट सर्भर विनिता राई केपिलासगढी तथा अनुशासित खेलाडी रोमा श्रेष्ठ आमचोक र बेस्ट प्रशिक्षक तारा मगर आमचोकलाई नगद तीन–तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

पुरुषतर्फ बेस्ट स्पाइकर मनीष गौतम षडानन्द, बेस्ट सेटर राजन लिम्बू ‘मस्कान’ झापा, बेस्ट ब्लकर कृष्ण रसाइली षडानन्द, बेस्ट डिफेन्डर भुवन केसी झापा, बेस्ट सर्भर कृष्ण तामाङ झापा, अनुशासित खेलाडी सञ्जय बस्नेत सोताङ तथा बेस्ट प्रशिक्षक सुमन रानामगर झापा घोषित भएको आयोजकले जनाएको छ । विजेता समूह तथा खेलाडीलाई गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राई र उपप्रमुख राजेश राजभण्डारीले संयुक्त रूपमा पुरस्कार वितरण गरेका छन् ।  

समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख राईले गाउँपालिकामा भलिबल खेलको विकास गर्दै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोग तथा खेलकुद विकास समितिको व्यवस्थापनमा अन्तरपालिकास्तरीय ‘ऐँसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला/पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताएका छन् । ‘भलिबल खेल नेपालको राष्ट्रिय खेल हो । यो खेल सानो ठाउँमा पनि आयोजना गर्न सकिन्छ,’ उनले भनेका छन्, ‘गाउँपालिकामा भलिबल खेलको विकास गर्दै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने हाम्रो उद्देश्य छ । यस्ताखाले प्रतियोगिताले खेल पर्यटनको समेत विकास गर्छ । प्रथमपटक आयोजना गरिएको प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने योजना बनाएका छौँ ।’

वैशाख २६ गतेदेखि सुरु भएको महिला–पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक, आमचोक गाउँपालिका भोजपुर, माप्यदुधकोशी सोलुखुम्बु र केपिसगढी गाउँपालिका बाक्सिला खोटाङ सहभागी भएका थिए । पुरुषतर्फ आयोजक, षडानन्द नगरपालिका भोजपुर, नेचासल्यान गाउँपालिका सोलुखुम्बु, दमक नगरपालिका झापा, सोताङ गाउँपालिका सोलुखुम्बु, चिसङ्खु गाउँपालिका ओखलढुंगा, ताप्ली गाउँपालिका उदयपुर, सिद्धिचरण नगरपालिका ओखलढुंगा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ, रावाबेँसी गाउँपालिका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरी, ऐँसेलुखर्क गाउँपालिका–५ महेश्वरी, ऐँसेलुखर्क गाउँपालिका– ७ माक्पा र खेलकुद विकास समिति ऐँसेलुखर्क–३ ऐँसेलुखर्कको सहभागिता रहेको थियो । 

करिब रु. १६ लाख २८ हजारमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना गरिएको प्रतियोगिताका लागि गाउँपालिकाले रु. १३ लाख ५० हजार रकम उपलब्ध गराएको गाउँपलिकाका प्रवक्ता एवं वडा नम्बर ३ ऐँसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए । सेमिफाइनल खेलदेखि प्रत्येक खेलमा म्यान अफ दी म्याचलाई समेत पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ । 
 

सुझावित समाचार