बत्तीसपुतली हत्या प्रकरण : पक्राउ परेका चारैजना नाबालक

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका– ९ बत्तीसपुतलीस्थित कुमारी टोलमा गएराति एकजनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चारैजना नाबालक रहेको खुलेको छ।

गएराति दुई समूहबीच भएको झडपमा परी मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको र उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारैजना नाबालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, ‘गएराति दुई समूहबीच झगडा हुँदा एकको मृत्यु भएको छ, घटनामा संलग्न चारजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दा नाबालक रहेको खुल्न आएकाले नाम सार्वजनिक गरिएको छैन। उक्त विषयमा थप पुष्टि गर्ने कार्य भइरहेको छ।’

झगडा हुँदा धिमालमाथि चक्कु प्रहार गरिएको र घटनालगत्तै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। राति बाटोमा हिँड्दै गर्दा धिमाल र पक्राउ परेका एक–अर्कासँग ठोक्किँदा झगडा सुरु भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा परी मृतक धिमालका साथी २३ वर्षीय मनीष चौधरी पनि घाइते भएको बताइएको छ। मृतक धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए।

सुझावित समाचार