हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने प्रयास हुन लागेको भन्दै यहाँका आठ राजनीतिक दलले त्यसको विरोध गरेका छन्।
शनिबार जिल्लामा क्रियाशील आठ राजनीतिक दलले विज्ञप्ति जारी गर्दै अस्पताललाई प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमार्फत प्रतिष्ठानमा गाभ्ने प्रक्रिया थालेको भन्दै विरोध जनाएका हुन्। उनीहरूले तत्कालै हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने प्रक्रिया रोक्न आग्रह गरेका छन्।
आफ्नै सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेर यसको अस्तित्व मास्न खोजिएको दाबी गरेका छन्।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नहुँदासम्मका लागि हेटौँडा अस्पताललाई प्रयोग गर्न दिइएको भए पनि सहमतिविपरीत प्रदेश सरकारले अस्पतालको अस्तित्व मेट्ने काम गर्न खोजेको उनीहरूको आरोप छ।
विज्ञप्तिमार्फत उनीहरूले मकवानपुरका जनताको अमूल्य निधिलाई नामेट पार्ने काम प्रदेश सरकारबाट भए प्रदेश सरकारको यस निर्णयमा समर्थन जनाउन नसकिने र तत्काल उक्त प्रक्रिया नरोके सशक्त प्रतिकारमा उत्रिने चेतावनी दिएका छन्।
जिल्लामा क्रियाशील राजनीतिक दलहरू कांग्रेसका सभापति बुद्ध लामा, माओवादी केन्द्रका संयोजक भीम पाख्रिन, एकीकृत समाजवादीका अध्यक्ष विष्णु दाहाल, रास्वपाका सभापति भरतप्रसाद पराजुली, जसपा नेपालका अध्यक्ष सोम घलान, राप्रपा नेपालका अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपाका उपाध्यक्ष अर्जुनप्रसाद गौतम र नेकपा मकवानपुरका इन्चार्ज वाटर सिले प्रदेश सरकारले थालेको प्रक्रिया तत्काल रोक्नुपर्ने बताएका छन्।
यसअघि १६ साउन २०८० मा पनि हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने प्रक्रियाको विरोध गर्दै जिल्लामा क्रियाशील राजनीतिक दलहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए। बागमती प्रदेशका पूर्व–मुख्यमन्त्री डोरमणि पौडेलको पालामा प्रतिष्ठान स्थापना गरी हेटौँडा अस्पताललाई प्रतिष्ठानमातहत सञ्चालन गर्ने निर्णय गरिएको थियो।