दुई छुट्टाछुट्टै घटनामा तीन युवक पक्राउ

शनिबार, २९ बैशाख, २०८१
डिजिटल संस्करण

जिल्लाको विभिन्न सामुदायिक वनमा आगलागी गर्दै हिँड्ने दुई र घर चोरी गर्ने एक युवक गरी दुई छुट्टाछुट्टै घटनामा तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने लिखु तामाकोशी गाउँपालिका–३ बिजुलीकोटका २३ वर्षीय अशोक महत र रामेछाप नगरपालिका– ३ साँघुटारका सुवास महतलाई प्रहरीले पक्राउ गरेको हाे। पक्राउ पर्नेमध्ये अशोकले रामेछाप नगरपालिका– १ गोठगाउँ र वडा नं ३ साँघुटारका सामुदायिक वनमा आगो लगाउँदै हिँड्दा उनलाई प्रहरीको टोलीले प्रक्राउ गरेको हो। 

त्यसैगरी, सुवास महतले रामेछाप नगरपालिका– १ गोठगाउँको कालिकादेवी गाईखुरा सामुदायिक वन ठूलीभिर नजिकैको जंगलमा आगो लगाउँदै गर्दा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए। स्थानीयको सूचनाको आधारमा तत्काल घटनास्थल पुगेको प्रहरीको टोलीले उनलाई सोही स्थानबाट पक्राउ गरेको हो। 

सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने दुवैजनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिई वन ऐनअन्तर्गत मुद्दा चलाउन डिभिजन वन कार्यालय रामेछापलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीप सिंहले जानकारी दिए। 

त्यसैगरी, मन्थली नगरपालिका– १ खाँदबारीमा घर चोरी गरेको आरोपमा एक युवक प्रक्राउ परेका छन्। पक्राउ पर्नेमा मन्थली नगरपालिका– १ का रामबहादुर कार्की रहेका छन्। उनले वैशाख १ गते मन्थली– १ खाँदबारीका टीकाबहादुर मगरको घरको मूलढोकाको ताल्चा तोडी २ थान तामा र पितलको गाग्री, २ थान चरेसको झर्का थाल, २ थान ढलौटको अम्खोरा र अन्य भाँडाकुडा चोरी गरेका थिए। उक्त घटनापछि चोरी गर्ने व्यक्तिको खोजी गरी आवश्यक कारबाही गरी पाऊँ भन्दै पीडित मगरले जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएका थिए । 

यता मगरको घरबाट चोरी गरेका भाँडा कार्कीले सिन्धुलीको खुर्कोटस्थित पर्सा वीरगन्ज महानगरपालिका– २२ मोतिहारीका श्यामबाबु सोनारलाई बिक्री-वितरण गरेका थिए। चोरीका सामान खरिद गर्ने श्यामबाबुलाई सामानसहित प्रहरीले प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पनि प्रहरी प्रमुख सिंहले बताए। 

See More On

सुझावित समाचार