१० करोडको ‘डिजिटल हुन्डी’ कारोबारको आरोपमा युवक पक्राउ

बिहिबार, २० बैशाख, २०८१
डिजिटल संस्करण

पसलको आवरणमा करोडौँको हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंका एक युवकलाई पक्राउ गरी मुद्दा दायर गरेको छ । धनुषा घर भई काठमाडौं बस्ने २४ वर्षीय पियुष खेतानविरुद्ध क्रिप्टोकरेन्सी र हुन्डी कारोबारको आरोपमा मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । उनले बाइनान्स र ओकेएक्स एपमार्फत १० करोड ४० लाख ७८ हजार रुपैयाँबराबरको हुन्डी कारोबार गरेको प्रहरीको दाबी छ । बयानका क्रममा खेतानले सो कुरा स्वीकार गरेका छन् । 

अध्ययनका लागि भारत जाँदा चिनजान भएका बिक्की महतोसँग मिलेर आफूले क्रिप्टो कारोबार गरेको उनले बयान दिएका छन् । खेतानको कालीमाटीमा कपडा पसल छ । सोही पसलको आवरणमा उनले हुन्डी धन्दा चलाउँदै आएका थिए ।

अन्तर्राष्ट्रिय कारोबार मिलाउन अवैध रूपमा क्रिप्टो कारोबारसमेत गर्दै आएका थिए । यो डिजिटल हुन्डी भएको र पछिल्लो समय फस्टाउँदै गएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए ।

खेतानको कारोबारमाथि विस्तृत अनुसन्धान हुन नसक्दा अन्य व्यक्ति भने पक्राउ परेका छैनन् । बयानका क्रममा खेतानले आफूले क्रिप्टो बिक्री गरेका व्यक्तिलाई नचिन्ने बताएका छन् । प्रहरीले मोबाइलमा कारोबार देखिएका थप व्यक्तिमाथि अनुसन्धान गरेको छैन ।
 

See More On

सुझावित समाचार