गुल्मीमा राष्ट्रिय खुला ब्याटमिन्टन प्रतियोगिता हुँदै, देशभरका सात सय खेलाडी सहभागी हुने

सोमबार, ५ चैत, २०८०
डिजिटल संस्करण

गुल्मीको तम्घासमा प्रथम राष्ट्रिय खुला ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ। जिल्ला ब्याटमिन्टन संघको आयोजनामा ९, १० र ११ चैतमा प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगिता सात विधामा सञ्चालन हुनेछ। 

सबैभन्दा बढी पुरस्कार राशि भएको खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुनेछ। जुन प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जिल्ला ब्याटमिन्टन संघ गुल्मीका सचिव सुरेश श्रेष्ठले जानकारी दिए। यो प्रतिस्पर्धामा नेपालका टप २० खेलाडी सहभागी हुन पाउने छैनन्। 

त्यस्तै, अर्को प्रतिस्पर्धा ३५ प्लस भेन्ट्रान्सबीच हुनेछ। जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, ४५ प्लस भेन्ट्रान्सबीचको प्रतिस्पर्धा हुनेछ।

यो प्रतिस्प्रर्धामा पनि प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: ४० हजार, २५ हजार र १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संघका सचिव श्रेष्ठले जानकारी दिए। ५५ प्लस सुपरभेन्ट्रान्सबीचको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: ३५ हजार, २० हजार र १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्।

खुला पुरुष एकल ब्याडमिन्टन प्रतियोगिता पनि राखिएको छ। यो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जिल्ला ब्याडमिन्टन संघले जानकारी दिएको छ। साथै खुला पुरुष ग्रेड बी ब्याडमिन्टन प्रतियोगिता पनि हुनेछ। यो प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३५ हजार, २० हजार र १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

जिल्लामै पहिलोपटक महिला ब्याडमिन्टन प्रतियोगिता

जिल्ला ब्याडमिन्टन संघ गुल्मीले जिल्लामै पहिलोपटक खुला महिला डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ। यो प्रतिस्पर्धामा देशभरका सबै महिला ब्याडमिन्टन खेलाडी सहभागी हुन पाउनेछन्। 

प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: ३५ हजार, २० हजार र १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। गुल्मीमा पुरुषमा ब्याडमिन्टन खेलको आकर्षण सहरदेखि गाउँसम्म बढिरहेको छ। 

विभिन्न समयमा पुरुषहरुबीचमा खेलहरू पनि भइरहेका छन्। तर, महिलामा ब्याडमिन्टन खेलको चासो कम रहेकाले आकर्षण बढाउन पनि जिल्लामा महिलाको राष्ट्रिय प्रतिस्पर्धा आयोजना गरिएको जिल्ला ब्याडमिन्टन संघले जनाएको छ। 

प्रतियोगिताको सबै तयारी पूरा

जिल्ला ब्याडमिन्टन संघ गुल्मीका अनुसार गुल्मी तम्घासमा ०४४ सालमा आयोजना गरिएको बक्सिङबाहेकका राष्ट्रिय खेल भएका छैनन्। साढे तीन दशकपछि जिल्ला ब्याडमिन्टन संघ गुल्मीले राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ।

आयोजकका अनुसार देशभरका करिब सात सय खेलाडी प्रतिस्पर्धाका लागि गुल्मी आउने आयोजकको अनुमान छ। जसका लागि जिल्ला ब्याडमिन्टन संघ गुल्मीले लामो समयदेखि प्रतियोगिता व्यवस्थापनको काम गरिरहेको छ। विभिन्न उपसमितिमार्फत खेलको सम्पूर्ण तयारी पूरा भएको जिल्ला ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए।

उनले खेल क्षेत्रमा खेलाडी र राज्यको आकर्षण बढाउँदै देशभरका खेलाडीमार्फत जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन राष्ट्रिय स्तरको प्रतिस्पर्धा आयोजना गरिएको बताए। आयोजककाे आर्थिक अवस्था कमजोर हुँदा पनि स्वदेश तथा विदेशका शुभचिन्तकको सहयोग र स्थानीय तहको मौखिक आश्वासनको आधारमा ठूलो प्रतियोगिता गर्ने हिम्मत आयोजकले बटुलेको श्रेष्ठले बताए।

आयोजकले करिब साढे २१ लख खर्च हुने अनुमान गरेको छ। खेल सञ्चालनका लागि देशमा ख्यातिप्राप्त राष्ट्रिय रेफ्रीलाई आमन्त्रण गरेको छ। जिल्लास्थित सुरक्षा निकायबाट पनि पूर्ण सहयोग प्राप्त हुने जिल्ला ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष श्रेष्ठले बताए। 
 
 

सुझावित समाचार