राजनीतिक विश्लेषक विजयकान्त कर्णलाई ३ प्रश्न

शुक्रबार, २ चैत, २०८०
डिजिटल संस्करण

संघीय सरकारले पाएको विश्वासको मतलाई कसरी हेर्नुभएको छ ?
प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा बनेको सरकारले विश्वासको मत अहिले मात्र पाएको होइन । यही संसदीय कालखण्डमै उहाँले सुरुमा विश्वासको मत पाउनुभयो । त्यतिखेर विश्वासको मत दिएर पनि कांग्रेस प्रतिपक्षमा रह्यो । त्यसको छोटो समयपछि नै पुनः उहाँले अर्को विश्वासको मत पाउनुभयो । त्यतिखेर कांग्रेस सत्तामा पुग्यो भने एमाले प्रतिपक्षमा । अहिले फेरि उहाँले विश्वासको मत पाउनुभएको छ । यतिखेर एमाले सत्तामा छ भने कांग्रेस प्रतिपक्षमा पुगेको छ । पहिल्यै पाँच दलका नेताहरू एक ठाउँमा बसेर निश्चित सहमतिमा हस्ताक्षर गरेर सरकार बनाइएको हुनाले विश्वासको मत नपाउने त प्रश्नै थिएन । त्यसैले, यो एक सामान्य प्रक्रिया हो । 

अबका दिनमा संघीय गठबन्धनको प्रभाव प्रदेशतिर पनि पर्ने सम्भावना कति देख्नुहुन्छ ?
प्रभाव पर्ने सम्भावना होइन, परिसक्यो । कतिपय प्रदेशका मुख्यमन्त्रीले मन्त्रीहरू बर्खास्त गरिसक्नुभयो भने कतिपय प्रदेशमा दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिइसके । हाम्रा प्रदेश सरकारहरू दलका शाखाजस्ता देखिन्छन् । स्वतन्त्र हैसियतमा काम गर्नुपर्ने प्रदेशहरू संघीय राजनीतिको अंगजस्ता देखिन्छन् । प्रमुख भनिएका दलहरूले संघमा आँखा झिम्क्याउनासाथ प्रदेशको सत्तामा परिवर्तन आउने गरेको छ । स्वतन्त्र रहनुपर्ने प्रदेशमा संघबाट टीका लगाएर मन्त्री र मुख्यमन्त्री बन्ने प्रथा कायम रहुन्जेल यस्तै हो । 

बागमती, गण्डकी र सुदूरपश्चिममा सत्ता गठबन्धनबाहिरको सरकार बन्न सक्ला त ? 
त्यस्तो सरकार बन्यो भने गज्जब हुन्थ्यो । त्यस्तो सम्भावना हुँदै नभएको पनि होइन । त्यस्तो कसरत भइरहेको पनि देखिन्छ । तर, सत्ता गठबन्धन र प्रतिपक्षी दलसहितको गठबन्धन दुवैलाई सजिलो भने देखिन्न ।   

सुझावित समाचार