सार्वभौमिकताका आधारमा साझा गन्तव्य तय गरौँ : भारतीय नेता

बुधबार, १७ माघ, २०८०
डिजिटल संस्करण

भाजपाका पूर्वमहासचिव राम माधवले नेपालको सार्वभौमिकतालाई भारतले सधैँ समर्थन गर्दै आएको बताउँदै नेपाल–भारत सम्बन्ध दुवैका लागि महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कहिलेकाहीँ काठमाडौं र दिल्लीबीच बुझाइको दूरी घटबढ भए पनि दुई देशका जनताको सम्बन्ध निकट रहने उनले टिप्पणी गरे ।

‘कहिलेकाहीँ दुई राजधानीबीच दूरी निकै बढेको महसुस गर्छौँ, कहिले साह्रै नजिक महसुस गर्छौँ । तर, पशुपतिनाथ र काशी विश्वनाथका बीचमा कुनै दूरी छैन । हाम्रा जनताको आस्थामा दूरी छैन,’ सेन्टर फर साउथ एसियन स्टडिज र इन्डिया फाउन्डेसनद्वारा मंगलबार आयोजित कार्यक्रममा उनले भने, ‘हामी दुई सार्वभौम मुलुक हौँ । सार्वभौम मुलुकका सार्वभौम प्राथमिकता, अधिकार र विकल्प हुन्छन् । एक–अर्काको सार्वभौमिकता स्वीकार गरेर साझा गन्तव्य तय गर्नुपर्छ।’

भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेतर्फ अघि बढेको उल्लेख गर्दै माधवले कतिपय देशले यसलाई मन नपराएको आरोप लगाए । ‘हामी चाहन्छौँ कि छिमेकीहरू पनि माथि उठ्नुपर्छ । अझ नेपाल अघि बढ्दा नै भारत पनि माथि उठ्ने हो,’ आरएसएसका केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका उनले भने । अयोध्यामा ८ माघमा राम मन्दिरको प्राणप्रतिष्ठामा नेपालमा पनि लाखौँ दीप जलाइएको र यसले दुई देशका जनतालाई नजिक तुल्याएको उल्लेख गरे । माधवले जनकपुर, अयोध्या र श्रीलंकाको कनेक्टिभिटी तथा बौद्ध सम्पर्क सञ्जाल निर्माणमा सबैले जोड दिनुपर्ने पनि बताए । ‘जनकपुर अयोध्या र लंकाबीच राम हाइवे किन नबनाउने ? लुम्बिनी–बोधगया–सारनाथ जोड्ने हाइवे किन नबनाउने ?’ उनले प्रश्न गरे ।

भाजपा प्रवक्ता डा. गुरु प्रकाशले नेपाल भारतको सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै पछिल्लो एक दशकमा भारतले नेपाललाई सुरक्षाको चस्माबाट मात्रै नहेरेको टिप्पणी गरे । ‘एक दशकदेखि भारतले नेपाललाई भूराजनीतिक वा रणनीतिक चस्माबाट मात्रै हेरेको छैन,’ उनले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथ, जनकपुरधाम र मुक्तिनाथ दर्शन हेरौँ, सांस्कृतिक रूपमा भारतले नेपालसँग सम्बन्ध सञ्चालन गरेको छ । यो विगतका सरकारहरूको भन्दा फरक हो ।’ 

राप्रपा महासचिव डा. धवलशमशेर राणाले दुई देशबीच जनतालाई परेको अप्ठ्यारो हटाउनुपर्ने बताए । नेपाली गाडीहरूलाई भारतमा सहज प्रवेश, नेपाललाई भारतबाट एयर इन्ट्री रुटको अनुमति अनि नेपालमा भारु पाँच सयका नोट चल्न दिनुपर्ने उनको भनाइ थियो । ‘३० वर्षयता सरकार फेरिएको छ, तर जनतालाई परेको मर्का फेरिएको छैन । दुवै सरकारले यसलाई सम्बोधन गर्नुपर्छ,’ राणाले भने । 

सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डेले नेपाल–भारत सम्बन्धसित कसैले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै जनस्तरको सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने बताए । दुई देशबीच कनेक्टिभिटीलाई प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ । 

भारतको विकासबाट लाभ चाहन्छौँ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री एनपी साउदले अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा सनातन धर्मका सबै अनुयायीका लागि महत्वपूर्ण घटना भएको बताए । उनले भारतमा पछिल्लो दशक भएको विकासको गतिबाट नेपालले पनि लाभान्वित हुन चाहेको उल्लेख गरे । उनले दुई देश ऋषिमुनि, नदी, हिमालय र शास्त्रले एक–आपसमा जोडेका चर्चा गर्दै सांस्कृतिक सम्पदाको निर्माणमा भारतले गरेको सहयोगको सराहना गरे । 

सुझावित समाचार