दक्षिण अफ्रिकामा सञ्चालन भइरहेको आइसिसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले बुधबार महत्वपूर्ण खेलमा पाकिस्तानको सामना गर्दै छ । प्रतियोगिताको डेथ अफ ग्रुप नाम दिइएको समूह ‘डी’मा नेपाल आइतबार आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । दक्षिण अफ्रिकाको पार्क इस्ट लन्डनमा दिउँसो दुई बजे नेपाल र पाकिस्तानबीच खेल हुनेछ । नेपालले प्रतियोगिताको सुपर सिक्समा स्थान बनाउन पाकिस्तानलाई हराउनु पर्नेछ । पाकिस्तानसँग पराजित भए नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बन्नेछ । नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानविरुद्ध खेल्नेछ ।
यू–१९ विश्वकपमा नेपाल र पाकिस्तानबीच यो चौथो भेट हो । विश्वकपमा टेस्ट मान्यताप्राप्त पाकिस्तानको युवा टोलीविरुद्ध नेपालको रेकर्ड राम्रो छ । आइसिसीको तथ्यांकअनुसार नेपाल र पाकिस्तानले समान एक खेलमा जित निकालेका छन् । एक खेल वर्षाका कारण दुवै टोलीले अंक बाँडेका थिए । यद्यपि, एसिसी यू–१९ एसिया कपका तीनवटै खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । सन् २००० मा नेपाल र पाकिस्तानसँग पहिलो भेट भएको थियो । वर्षाका कारण यो खेल रद्द भयो ।
सन् २००२ : नेपाल ३० रनले विजयी
सन् २००२ को न्युजिल्यान्डमा भएको संस्करणमा नेपालले सनसनी रूपमा पाकिस्तानमाथि जित निकालेको थियो । समूह ‘सी’मा नेपाल, पाकिस्तान, इंग्ल्यान्ड र पपुवा न्युगिनी थिए । नेपालले पाकिस्तानलाई लिन्कोन रंगशालामा ३० रनले स्तब्ध बनाएको थियो । पहिलो ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । प्रत्युत्तरमा पाकिस्तान ४५.४ ओभरमा एक सय २१ रनमा अलआउट भयो ।
यस खेलमा नेपालका लागि वरदान चालिसेले सर्वाधिक ४२ रनको योगदान दिएका थिए । उनले ८७ बलमा तीन चौका प्रहार गरे । शक्ति गौचनले १२ रन, कनिष्क चौगाईंले १५ रन तथा सन्जम रेग्मीले १६ रन बटुले । नेपालले पाकिस्तानबाट २१ अतिरिक्त रन पाएको थियो ।
तत्काल उमर गुलले नेपालविरुद्ध २३ रन खर्चेर दुई विकेट लिए । सहज लक्ष्य पछ्याएको पाकिस्तानले नेपालका सिमर बलरद्वय शक्ति र सन्जमको घातक बलिङ सामना गर्न सकेनन् । शक्तिले १० ओभरमा तीन मेडन राखी १९ रन खर्चेर तीन विकेट लिए । सन्जमले ९.४ ओभरमा एक मेडन राखी २७ रन दिँदै तीन विकेट हात पारे । कप्तान विनोद दास, लाक्पा लामा र वरदानले समान एक विकेट हात पारे । पाकिस्तानका कप्तान सलमान बटले १० रन जोडे । पाकिस्तानको यस टोलीबाट सलमान र उमरले राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।
सन् २०१६ : पाकिस्तान १२२ रनले विजयी
आठ वर्षअघि नेपालले पाकिस्तानसँग सामना गर्दा एक सय २२ रनको फराकिलो अन्तरले हार सामना गरेको थियो । सन् २०१६ को यू–१६ विश्वकपअन्तर्गत पाँचौँ स्थानका लागि भएको खेलमा पाकिस्तानले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ५८ रन जोडेको थियो । प्रत्युत्तरमा नेपाल ४३.५ ओभरमा सबै विकेट गुमाएर एक सय ३६ रन मात्र बनाएको थियो । पाकिस्तानको ब्याटिङमा हसन मोसिनले एक सय १७ रनको शतकीय योगदान दिएका थिए । नेपालका बलर सन्दीप लामिछानेले ५३ रन खर्चेर तीन विकेट लिए । लक्ष्य पछ्याएको इनिङ्समा नेपालका लागि प्रेम तामाङले सर्वाधिक ६५ रन बनाएका थिए ।