प्रधानमन्त्री कप एकदिवसीय : लगातार तेस्रो जितसँगै सुदूरपश्चिम शीर्ष स्थानमा

शुक्रबार, ५ माघ, २०८०
डिजिटल संस्करण
प्रधानमन्त्री कप एकदिवसीय : लगातार तेस्रो जितसँगै सुदूरपश्चिम शीर्ष स्थानमा

गण्डकी प्रदेशविरुद्ध अर्धशतक बनाएपछि सुदूरपश्चिमका किरण ठगुन्ना (हरियो) ।

सुदूरपश्चिम लगातार तीन जितका साथ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा बिहीबार भएको खेलमा गण्डकीलाई १०८ रनले हराउँदै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लेको हो । सुदूरपश्चिमले तीन खेलबाट ६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले दुई खेलबाट ४ अंक बटुलेको छ । प्रतियोगितामा सुदूरपश्चिम र पुलिस मात्र अपराजित छन् । आर्मी, एपिएफ, बागमती, कर्णाली र मधेशको समान २ अंक रहेको छ । 

पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले ५० ओभरमा सबै विकेट गुमाएर २०१ रन बनायो । प्रत्युत्तरमा गण्डकीले ३०.२ ओभरमा ९३ रन बनाउँदा सुदूरपश्चिम १०८ रनको फराकिलो अन्तरले विजयी भयो । सुदूरपश्चिमले यसअघि पहिलो खेलमा कर्णालीलाई १३४ रन र लुम्बिनीमाथि पाँच विकेटको जित निकालेको थियो । गण्डकीको यो लगातार तेस्रो हार हो । गण्डकी कर्णालीसँग सात र लुम्बिनीसँग चार विकेटले पराजित भएको थियो । लक्ष्य पछ्याएको इनिङ्समा गण्डकीका आश्विनी रानाले ६७ बलमा चार चौकासहित सर्वाधिक २५ रन बटुले । कमल परियारले २२ रन जोडे । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

गजेन्द्र बोहराले दुई विकेट हात पारे । भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान एक विकेट लिएका छन् । सुदूरपश्चिमको जितमा शेर मल्लले उत्कृष्ट बलिङ गरेका थिए । उनले ८.२ ओभरमा एक मेडनसहित २३ रन खर्चेर पाँच विकेट लिएका थिए । इनिङ्सको दोस्रो ओभरमा शेरले लगातार विकेट लिए । उनले १.४ ओभरमा रोशन गौतम र १.५ ओभरमा करण पँगेनीलाई क्याच आउट गराए । इनिङ्सको ३.१ ओभरमा उनले ईश्वर क्षेत्रीलाई एलबिडब्लु धरापमा राखे । 

किरणको अर्धशतक 
सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले अर्धशतकीय इनिङ्स खेले । उनले ७३ बलमा पाँच चौकासहित सर्वाधिक ६० रन जोडेका हुन् । नारायण जोशीले ५६ बलमा समान दुई चौका र छक्कासहित ४६ रन बनाए । सुदूरपश्चिमलाई खेलमा फर्काउन सातौँ विकेटका लागि नारायण र किरणले ७५ रनको महत्वपूर्ण साझेदारी गरे । आठौँ विकेटका लागि करणले नरेन साउदसँग ४६ रनको साझेदारी गरे । यही दुई साझेदारीका कारण सुदूरपश्चिमले जितको आधार तय गरेको हो । सुदूरपश्चिमका शेर मल्लले १९, राजु रिजालले १६, टेक रावतले १५ र नरेन साउदले १३ रन बनाए । बलिङमा गण्डकीका विपिन खत्री र अंकित सुवेदीले समान तीन विकेट हात पारे । 

कोशीविरुद्ध आलमको ६ विकेट
बलर सहाब आलम चम्किएको खेलमा त्रिभुवन आर्मी क्लबले कोशीमाथि नौ विकेटको जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा कोशीले पहिलो ब्याटिङ गर्दै २४.४ ओभरमा सबै विकेट गुमाएर ८८ रन बनायो । प्रत्युत्तरमा आर्मीले ९.५ ओभरमा एक विकेटको नोक्सानीमा ९२ रन जोड्यो । आर्मीका इमरान शेखले २५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । सन्तोष कार्कीले २७ बलमा ३२ रन बनाए । राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्लले सात बलमा चार चौका र एक छक्का प्रहार गरी २२ रन जोडे । यसअघि कोशीको ब्याटिङ कमजोर बनाउन आर्मीका आलमले १४ रन खर्चेर ६ विकेट लिएका थिए । 

उनले ६.४ ओभरमा तीन मेडन फ्याँके । आर्मीका लागि कुशल मल्लले दुई विकेट लिए । आर्मीले पहिलो विकेटका लागि सन्तोष र इमरानले ६९ रनको साझेदारी गरे । कोशीको ब्याटिङ कुनै समय ७०–३ को अवस्थामा थियो । कोशीले थप १८ रन बनाउँदा बाँकी सात विकेट गुमाएको हो । 

मधेशसँग एपिएफ स्तब्ध
राष्ट्रिय खेलाडीले भरिएको एपिएफ मधेशसँग पाँच विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा एपिएफले २४७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा मधेशले ४८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । मधेशका लागि रूपेश सिंहले ७२ बलमा चार चौका र तीन छक्काको मद्दतले अविजित ७२ रनको योगदान गरे । पवन सराफले ६६ बलमा पाँच छक्का र चार चौकाको सहयोगमा ६४ रन बनाए ।

नीरज यादवले ७० बलमा तीन चौका र दुई छक्काको मद्दतले ५२ रन जोडे । अनिल शाहले २९ र अभिषेक तिवारीले अविजित १३ रन बनाए । पाँचौँ विकेटका लागि रूपेश र नीरजले ८७ रन तथा चौथो विकेटका लागि पवन र नीरजबीच ५९ रनको साझेदारी भएको थियो । एपिएफका लागि रमेश कुर्मी र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिएका छन् ।

टस हारेर ब्याटिङ गरेको एपिएफले ५० ओभरमा नौ विकेट गुमाउँदै २४६ रन बनाएको थियो । एपिएफका लागि आसिफ शेखले ६९ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५९ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ७४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ५८ रन बटुले । अमरसिंह रौटेलाले अविजित ४९ र सन्दीप जोराले २० रन बनाएका थिए । दोस्रो विकेटका लागि आसिफ र रोहितले १३१ रनको साझेदारी गरेका थिए । मधेशका लागि रूपेश सिंह र प्रदीप पासवानले समान तीन विकेट लिए । 

सुझावित समाचार