रामग्रामबाट प्रधानमन्त्रीले भने- आजको विश्वमा शान्तिको महत्व अझ बढ्दै छ

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन्। 

नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन्। मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्व अझ बढ्दै गएको छ।’

उनले लुम्बिनीजस्तो पावन भूमिबाट विश्व समुदायलाई विशेष रूपले शान्तिका निम्ति अपिलसमेत गरे। रामग्रामको विकासका निम्ति भएका कार्यक्रममार्फत हुने प्रतिबद्धताले उक्त क्षेत्रको महत्व झन् बढेर गएको उनको भनाइ थियो। 

प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघका महासचिवको प्रसंग स्मरण गर्दै भने, ‘मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको थिएँ। उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत भयो।’

उनले देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरोलगायतका प्राकृतिक प्रकोपबारे विश्वको ध्यान खिच्न आफू सफल भएका बताए।

उनले कोप– २८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिबद्धता व्यक्त भएको उल्लेख गर्दै उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताए। 

सुझावित समाचार