कोशीमा एमाले प्रतिपक्षमा बस्ने सरकारलाई दिएको समर्थन कायमै

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

कांग्रेसका आठजना बागी सांसदहरूलाई समर्थन गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएको एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । एमाले संसदीय दलको सोमबार बसेको बैठकले आफू मुख्य प्रतिपक्षी भएर बस्ने र सरकारलाई दिएको समर्थन पनि कायमै राख्ने निर्णय गरेको हो । 

एमाले संसदीय दलका नेता हिक्मत कार्कीका अनुसार चुनाव र सत्ताको मोहमा आफ्नो पार्टी आसक्त नभएको भन्दै संघीयताको दिगो कार्यान्वयनका लागि आफूहरूले सरकारलाई दिएको समर्थन कायम राख्दै हाललाई प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए । उनका अनुसार एमालेले आफ्नो पालामा अध्यादेशमार्फत आएको बजेट पारित गराउन सघाउने निर्णय गरेको छ । ‘हामी चुनावदेखि चुनाव अनि सत्तादेखि सत्ताको यात्राका लालची हैनौँ, यसैले हाललाई सरकारलाई समर्थन गर्दै प्रतिपक्षमा बस्छौँ । गुण र दोषका आधारमा मात्र पछि सरकारमा सहभागी हुने वा समर्थन फिर्ता लिने भन्नेबारे निर्णय गर्नेछौँ,’ पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले भने ।

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले सोमबार कोशी प्रदेश सभामा आर्थिक विधेयक दर्ता गरेको छ । सोमबारको संसद् बैठकमा सरकारले पेस गरेको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश स्वीकृत भएको छ । आर्थिक वर्ष ०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको अध्यादेश पनि स्विकृत गरेको छ । यसअघि प्रतिपक्षमा रहेका गठबन्धनका दलहरूले अध्यादेश खारेजको माग गर्दै दर्ता गराएको विधेयक फिर्ता लिएका छन् । 

सोमवारको कोशी प्रदेश सभाको बैठकमा रिक्त रहेको सभामुखको पद तुरुन्त पदपूर्ति गर्न सत्ता पक्षका सांसदहरूले माग गरेका छन् । मुख्यमन्त्री नियुक्त गर्न सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेपछि सर्वोच्चबाट पदमुक्त भएपछि कोशीमा सभामुख पद रिक्त छ । हालसम्म उपसभामुख सिर्जना दनुवारले कार्यावाहक सभामुखका रूपमा सभा सञ्चालन गर्दै आएकी छन् ।

नयाँ सभामुखमा सत्ता गठबन्धनले राप्रपालाई आश्वासन दिएको छ । राप्रपालाई सभामुख दिएमा गठबन्धन सरकार सुबिधाजनक बहुमतमा रहने र सरकार दिगो हुने विश्वास गगठबन्धनको छ । कांग्रेस कोशी प्रदेश संसदीय दलको नेतामा उद्धव थापा नै कायम भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले पदबाट राजीनामा दिएका थापालाई सोही पदमा कायम राख्ने निर्णय गरेको हो । 

सुझावित समाचार